अनुगमनको भत्ता कृषिमा

बाँकेको खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने भएको छ। 

गाउँपालिकाको सातौँ गाउँसभामा वडा नं २ का अध्यक्ष देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। 

गाउँपालिकाले अगाडि सारेको कृषिबाटै आर्थिक समृद्धिको अभियानलाई सहयोगी हुने उनले बताए। 'अब रु पाँच लाखसम्मका योजनाको अनुगमन वडाध्यक्षको संयोजकत्वमा गरिने भएको छ' उनले भने।

यहाँको वडा नं २ र ३ मा व्यावसायिकरूपमा तरकारी खेती हुँदै आएको छ। गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने गरेको निर्णय कृषकको पक्षमा रहेको वडा नं २ निवासी अगुवा कृषक लालबहादुर खत्रीले बताए।

गाउँपालिकाले किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था गर्दै उत्पादित कृषि उपजलाई स्थायी बजारीकरणको व्यवस्था गर्न सके गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने कृषक खत्रीको भनाइ छ। 

 आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा थप नयाँ कार्यक्रमसहित बजेटमा प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष कक्षपतिले बताए। 

'गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट संशोधनसहित पारित भएको छ' उनले भने। 

गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौँ गाउँसभामा प्रस्तुत गरेको रु ७६ करोड ३६ लाख ७३ हजार ४८७ बजेट सभाले पारित गरेको हो।

गाउँपालिका अध्यक्ष कक्षपतिले गाउँपालिकामा निर्वाचनको बेला मतदातासामु गरिएका १०१ बुँदे घोषणामध्ये ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए। 

चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण धेरै काम रोकिएको बताउदैं उनले भने, 'कोरोना महामारी सङ्क्रमण रोकथामका लागि चार महिना व्यतित भयो, त्यसैले कयौँ योजना पूरा हुन पाएका छैनन्।' 

प्रकाशित मिति: : 2020-07-12 12:58:54

प्रतिकृया दिनुहोस्