झापामा बाढी : एकको मृत्यु, पाँच परिवार विस्थापित

झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए।
 
कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ ।

कनकाई नदीमा आएको बाढीका कारण चार घर पूर्णरूपमा क्षति भएको छ । बाढीका कारण शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार पूर्णरूपमा विस्थापित बनेको हो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ । 

असार १४ गते शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमै कनकाई नदीको बाढीका कारण पाँच परिवार विस्थापित भएका थिए । विस्थापित भएका पाँच परिवारका २२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका इमेर्जेन्सी अपरेशन सेन्टर (इओसी) का फोकल पर्सन हरिशरण खड्काले जानकारी दिए।

खड्काका अनुसार कनकाई बेसिनअन्तर्गत कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका एक हजार ३१० परिवार बाढीको जोखिममा छन् । कनकाई नदीका कारण झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ बढी जोखिममा रहेको छ । त्यस्तै, गौरीगञ्ज १ र २ का सात टोल जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । झापा गाउँपालिका–७ स्थित मदगाछबाट कनकाई नदीको बाढी गाउँ बस्ने सम्भावना धेरै भएकाले हाल त्यहाँ स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले बाँध निर्माणको काम गरिरहेका छन् ।

यता भद्रपुर नगरपालिका वडा नं ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन् । प्रहरीका अनुसार उनी नुहाउन नदीमा पस्दा बगेर बेपत्ता भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी तथा उद्धारका लागि टोली परिचालन गरे पनि बेपत्ता राई फेला परेका छैनन् । 

प्रकाशित मिति: : 2020-07-12 07:32:05

प्रतिकृया दिनुहोस्