प्रधानमन्त्री ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर जि न्युजले माग्याे माफी

भारतीय टेलिभिजन च्यानल जि न्युजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर क्षमायाचना गरेको छ।

पछिलाे समय भारतीय समाचारमाध्यमहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेका थिए। जसको नेपालमा व्यापक विरोध भएको थियो। विरोध भएपछि बिहीबार नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए। 

लगतै जी न्युजको क्षमायाचना आएको हो।जि न्युज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं। तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं। हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं। हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ।’

यसअघि जी न्युज टेलिभिजनका प्रधानसम्पादक सुधिर चौधरीले  नेपाल भारतको न्युज एङ्करहरुसँग नै डराएको र नेपालविरुद्ध सेना पठाउनु नै नपरेको ट्वीट गरेका थिए।  

चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि नेपालीहरू आहत भएको र भारतीयहरूले नै त्यो विचार ठीक नभएको सल्लाह आएपछि ट्वीट डिलिट गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘मेरो यो ट्वीटले नेपालमा हाम्रा दर्शक आहत भएका छन्। यहाँ भारतमा पनि धेरैले मलाई लेखेर यो विचार सही नभएको बताए। सम्भव हुनसक्छ मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ। यो मञ्च अभिव्यक्तिका लागि हो, कसैलाई आहत गर्नका लागि लागि होइन। त्यही भएर म खेद जताउँदै यो ट्वीट हटाउँदैछु।’ 

तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन।

प्रकाशित मिति: : 2020-07-10 21:22:33

प्रतिकृया दिनुहोस्