अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी आज देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। यस्तै, ४१ जना बेपत्ता रहेका छन्।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीका अनुसार कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुममा एक जना गरी ४१ जना बेपत्ता छन्। यसअघि बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता रहेको पनि उनले बताए।
गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो। त्यसको भोलिपल्ट जेठ ३१ गते पर्वतको कुस्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो।
यस्तै, गत हप्ता असार २० गते बझाङको केदारस्यु गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए। यससँगै नेपालमा यसवर्षको मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ३५ पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। यस अवधिमा ५९ जना बेपत्ता रहेका छन्।
यसैबीच जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशैभरि हल्कादेखि मध्यम र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले शनिवार र आइतवार पनि वर्षा जारी रहने जानकारी दिएको छ।
यसैबीच गृह मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार तथा सहायतका लागि जिल्लास्थित निकायहरूलाई खटाइएको जानकारी दिएको छ।
बिहीवार विज्ञप्तीमार्फत् मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भनेका छन्, "अविरल वर्षा भइरहेका कारण खोज, उद्धार, राहत लगायतका कार्यहरूमा कठिनाइ भएता पनि जिल्लास्थित निकायहरू परिचालित भइरहेका छन्।"
"निरन्तर वर्षा भइरहेको हुँदा जोखिममा रहेका नागरिकहरूले उच्च सतर्कता अपनाउनु हुन सम्बद्ध सबैलाई अनुरोध गरिन्छ।"
अहिले बाढी र पहिरोसहित विपद् व्यवस्थापनका लागि बढी जिम्मेवारी पाएका स्थानीय सरकारका अधिकारीहरूले भने स्रोत र साधनको अभावले गर्दा समस्या उत्पन्न भइरहेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यो मनसुनमा नेपालभरि १२ लाख ५० हजार घरपरिबार बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ।
त्यस्तै पहिरोका कारण साढे दुई लाख घर परिवार प्रभावित हुने ठानेर त्यसै अनुसार तयारी गरिएको उनले जानकारी दिए।
मनसुनका कारण उत्पन्न हुने विभिन्न विपद्का कारण पानीजन्य रोगबाट पनि १५ लाख घरपरिवार प्रभावित हुने प्राधिकरणको अनुमान छ।
उनले मनसुनबाट सिर्जित विभिन्ने खाले विपद्बाट प्रभावित हुनसक्ने कुल परिवारको सङ्ख्या ३० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए।
विपद्का बेला अग्रपङ्तिमा रहेर खट्ने सुरक्षा निकायका अधिकारीहरूले पनि बाढी तथा पहिरो आएपछि सुरक्षाकर्मीहरू परिचालन भइसकेको जानकारी दिएका छन्।
उनीहरूका अनुसार जोखिमको मूल्याङ्कन गरेर विभिन्न क्षेत्रहरूलाई वर्गीकरण गरिएको र त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरिनेछन्।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार डुबान र बाढी तथा पहिरोको जोखिमका आधारमा विभिन्न क्षेत्रहरूलाई बढी प्रभावित हुने र संवेदनशील क्षेत्रका रूपमा छुट्याइएको छ।
उनका अनुसार डुबानबाट बढी प्रभावित हुनसक्ने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दिया कैलाली र कञ्चनपुर रहेका छन्।
त्यस्तै डुबानबाट संवेदनशील अवस्था आउन सक्नेमा दाङ, कपिलवस्तु र रुपन्देहीलाई राखिएको छ।
बाढी र पहिरोबाट बढी प्रभावित हुन सक्नेमा संखुवासभा, धनकुटा, दोलखा, धादिङ, कास्की पाल्पा, रुकुम र दार्चुलालगायतका जिल्ला रहेका छन्।
बाढी र पहिरोका कारण संवेदनशील क्षेत्र बन्न सक्नेमा चाहिँ पाचथर, इलाम, काभ्रे, दाङ सुर्खेत, जुम्ला र डोटीलगायतका जिल्ला छन्।
उनले जोखिम हेरेर विभिन्न क्षेत्रहरूमा आवश्यक सामग्री र जनशक्ति परिचालन भइसकेको जानकारी दिए।
सेनाले विपद् व्यवस्थापनका लागि चार चरणमा फौजको परिचालन गर्ने जानकारी पनि उनले दिए