स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी गरेको छ।
आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्वका अरु देशमा पनि ढलका पानीमा संक्रमण भेटिएपनि हालसम्म मानिसमा नसरेको जानकारी दिएका हुन्।
‘नेपालमा मात्रै होइन अरु केही देशमा पनि कोरोना भाइरसको संक्रमण देखिएको अध्ययनले देखाएको छ। तर अहिलेसम्म मानिसमा फैलिएको भन्ने जानकारी पाएका छैनाैं,’ उनले भने।
काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको थियो। सार्स इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययन गर्दा कोरोना भाइरस देखिएको दावी गरेको छ।
यो कुरालाई स्वीकार गर्दै मन्त्रालयका प्रवक्ता गौतमले भने,‘ मानिसको दिसामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो। तर अध्ययनले त्यो सर्छ भनेर देखाएको छैन, त्यही पनि सरसफाईमा खटिनेले भने बिशेष सावधानी अपनाउनु होला।’
उनले काेराेना संक्रमित निकाे भएर पनि केही दिनसम्म भाइरसकाे जिवाणु शरिरमा देखिने पुन दाेहर्याए। ‘संक्रमित निको भएपछि पनि उनीहरुले गरेको फोहोरमा केही संक्रमणको जिवाणु हुन्छ। तर त्यो जिवाणु मानिसमा सार्न सक्षम हुँदैन’, उनले भने।
उनले यो अध्ययनलाई मन्त्रालयले समेत थप अनुसन्धान गर्ने जानकारी दिए।