कोरोना कहर बाँकी नै छ। दिनप्रतिदिन संक्रमित पनि बढिरहेका छन्। कोरोनाका कारण र बिना कारण मृत्यु हुनेको संख्या बढ्दो छ। बन्दाबन्दी भएको पनि तीन महिना पुगिसक्यो। अझै कहिलेसम्म कोरोनाको महामारी रहिरहने हो, निश्चित छैन। के गाउँ, के सहर। धनी हुन् या गरिब। शासक हुन कि, जनता। सबैलाई बन्दाबन्दी केही हदसम्म छोएकै छ।
तर बन्दाबन्दी निम्न वर्गलाई गलाको पासो भएको छ। गर र या मरको अवस्थामा छन्। उनीहरुको लडाइँ भोकसँग चलिरहेको छ। सरकारको ‘कोही भोको पर्दैन कोही पनि भोकले मर्दैन’ नाराले आवा खाएको छ।
यहाँ जनताले एक छाक टार्न गरेको महाभारतको बारेमा कसलाई के मतलब छ र? क्वारेन्टाइनमा उस्तै विजोग छ। रोगले भन्दा भोकले मर्नेहरूको संख्या बढी छ।
यसबैबीच दैनिक छाक टर्न भोकसँग संघर्ष गरिरहेका फोहोर संकलन गरेर रोजिरोटी जोहो गरिरहेका एक दम्पत्तिसँग बिएल नेपालीका प्रतिनिधिले शनिबार कोहलपुर बसपार्क नजिकै भेटेर कुरा हुँदा थाहा भयो उनको नाम राम कुसुम, घर नेपालगन्ज भएको।
उनीहरुको मुख्य काम प्रयोग भइसकेका वस्तु (कवाड) संकलन गर्ने, बिक्री गर्ने र खानेकुराको जोहो गर्ने हो।
शिरमा थोत्रो कपडा बाँधेका उनको मुखमा हरियो रंगको मास्क छ। शरीरमा कालो सर्ट र पाइमाजा लगाएका छन् भने खुट्टामा चप्पल। हातमा पञ्जा थिएन। काम के गनर्नुहुन्छ नि? उत्तरमा पहेंलो रंडको बोरामा हालेको मिनेटल वाटरका बोत्तलमा थाप मार्दै भन्छन्, ‘देखो इदर यहीँ हे काम। कवाड बेच्ने। उदर देखो जाहान पाल्ने खाने।’
पल्तिर बसेका श्रीमती, छोरा र सालीलाई देखाउँदै। ‘चार–पाँच वर्ष भएछ काम गर्न थालेको, जहाँ गए पनि यही हो काम। यसरी नै चलिरहेछ हजुर,’ उनले भने।
उनी पहिले पल्लीदारी गर्थे। अहिले कोहलपुरको ड्राइभर टोलको ऐलानी जग्गामा बस्छन्। बिहान घामको झुल्कोसँगै रामको कर्म सुरू हुन्छ।
बन्दाबन्दीको करीव तीन महिना बेरोजगार बसे। जसोतसो गुजारा नचलाएका पनि होइनन्। उनले न स्थानीय सरकारले दिएको राहत पाए न त कवाड बेच्न नै। बन्दाबन्दी केही खुकुलो भएको मौकामा बजारमा निस्कीहाले स–परिवार। उही पहिले कै क्रममा।
दिनमा एक सय केजी कवाड संकलन गरे भने किलोको जम्मा २० रूपैयाँ पाउँछन्। त्यो दिन उनले तीन जना गरेर ५० केजी जति फोहोर प्लास्टिकका बोतल संकलन गरेका थिए। एकदिन कवाडी संकलन गर्न बाहिर निस्कन पाएनन् भने चुल्हो बल्दैन। चुल्हो बलेन भने परिवार भोको हुन्छ।
यो बाहेक अर्को विकल्प केही पनि छैन। कुराकानी गर्दागर्दै जाने सुर देखाए उनले। श्रीमती र सालीले उनको भारी टाउकोमा बोकाइदिए। काम्दै उठाए। एक फन्को मारेर हिँड्दै भने, ‘२० केजीको हो भारी। यसरी नै बोक्छु। टाउको दुख्दैन। बानी परिसक्यो।’
रामकी श्रीमती खुइलीले पनि आफ्नो भारी बोकी हिँड्ने तरखर गरिन्। उनको श्रीमानसँग कुरा गर्दा सडकको पेटीमा गालामा हात लगाएर बसिरहेकी थिइन्। उनीसँग कुराकानी गर्न खोज्दा खासै खुलिनन्। तर आफ्नो विवशता सुनाउन भने भ्याइन्, ‘सरकारले लकडाउन भनेको छ। जनतालाई दुःख दिइरहेको छ। हाम्रो त माध्यम नै यही हो। नत्र खाना, लाउनको लागि केही पनि छैन।’
यी दम्पत्तिको अवस्था हेर्दा नै थाहा पाउन सकिन्थ्यो, अभाव र गरिबीले कति थिचेको छ भन्ने। कोरोना कहरका बीच विना स्वास्थ्य सावधानी उनीहरू निर्वाद फोहोर डंगुरमा जीन्दगीको भोक खोजिरहेका छन्।
उनीहरूलाई बजारको किनारामा पाइनेर भेटिने प्रयोग विहीन वस्तुहरुले नै भोक मेटाउँछन्।
राम र खुइलीका एक सन्तान छन्। उनीहरू जहाँ जान्छन्, छोरा त्यहीँ लैजान्छन्। उनी कोहलपुर कै एक सामुदायिक विद्यालयमा पढ्छन्। विद्यालय बन्द भएको पनि तीन महिना भयो। देशभरका विद्यार्थीका लागि सरकारले रेडियो, टिभी र अनलाइन मार्फत पढाउने व्यवस्था गरे पनि उनको छोरालाई त्यो थाहा छैन।
उनी मात्र होइन यहाँका अधिकांश गरिब, विपन्न समुदायका बालबालिका सरकारले सुरू गरेको वैकल्पिक कक्षा रेडियो, टिभी र अनलाइनको पहुँचमा छैनन्। ती पाँच वर्षीय बालकलाई शिक्षाको आवश्यकता कम भोकको चिन्ता बढी छ। अहिले उनको काम हो, आमाबुवाको कवाड व्यवसायमा सघाउने।
उनीहरुसँगै रहेकी राम कुसुमकी साली नेहा नेपालगन्जको एक सामुदायिक विद्यालयमा तीन कक्षा पढ्छिन्। विद्यालय नखुलेको हुनाले उनी दिदी भिनाजुसँगै काम गरी पछिको लागि आवश्यक कापीकलम र पोसाकको जोहो गर्दैछन्।
उनीजस्तै कवाड संकलन गर्नेका कथा व्थया उस्तै छन्। कुरा सकाउँदै राम कुसुमले भने, ‘नउठाइ कवाड पुग्दैन, खान साँझ र बिहान।’