एमाले नेताहरूको चिन्ताः केपी ओली र शंकर पोखरेलले एमाले सिध्याउँदैछन्

File Photo
File Photo

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको ‘आलोचना खप्न नसक्ने’ कार्यशैलीका सन्दर्भमा पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावल र उपाध्यक्ष विष्णु पौडेलनिकट कतिपय केन्द्रीय सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्।

एमाले नेताहरूले शीर्ष नेतृत्वको नियतमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। पार्टी काममा रमाइरहेका इमान्दार नेता–कार्यकर्तालाई तर्साउन ‘ओली समूह’ले निष्कासन र कारबाहीको नाटक गरेको उपाध्यक्ष पौडेलनिकट एक केन्द्रीय सदस्यको आरोप छ।

‘आफ्नो लोकप्रियता ओरालो लागिरहेका बेला केपी ओली र शंकर पोखरेलले गलत कदम चाल्नुभएको छ, त्यो उहाँहरूलाई भारी पर्नेवाला छ। मलाई लाग्छ अध्यक्ष र महासचिव कमरेडले इमान्दार र वैचारिक नेतालाई पार्टीबाट खेदेर एमाले सिध्याउँदैछन्,’ उनले भने, ‘अहिले पार्टीभित्र आलोचना सुन्नै नसक्ने प्रवृत्ति मौलायो! यो डरलाग्दो छ।’

अध्यक्ष ओलीको निर्देशन र महासचिव पोखरेलको प्रस्तावमा रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सेनामाथि बुधबार एमाले सचिवालयले ‘कारबाहीको डन्डा’ चलाएको छ। एमाले पंक्तिले नेता रावललाई संगठित सदस्य नरहनेगरी कारबाही गर्यो भने अन्य दुई नेतृलाई जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।

बुधबार बसेकाे सचिवालय बैठकमा ओली, पोखरेलसहित उपमहासचिव विष्णु रिमालकाे जाेडबलमा तीन नेताहरूलाई कारबाहीका लागि कदम चालिएकाे थियाे। लगतै उपाध्यक्ष पौडेलले उनीहरूमाथि याे तहकाे कारबाही गरिहाल्न नहुने मत राखेका थिए।

त्यस्तै, उपमहासचिव रिमालकाे जिद्दिपनामाथि उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा सचिवहरू याेगेश भट्टराई र गाेकर्ण विष्टले काउन्टर जवाफ दिएकाे एक पदाधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए। उनीहरूले तीन नेतालाई याे तहकाे कारबाही गर्दा तल्लाे तहसम्म असन्तुष्टि झन चुलिँदै जाने चेतावनीसमेत दिए। तर रिमालले ठाडै प्रतिवाद गर्दै पार्टीबाट निकाल्नुपर्नेमा जाेड दिएकाे एमाले स्राेतकाे दाबी छ।

उपाध्यक्ष र सचिवहरूले कारबाहीका लागि प्रस्ताव गरिएका नेताहरूकाे सामान्य गल्ती भएपनि त्यसलाई सच्याउन सकिने धारण राखेका थिए। तर अन्तिममा रावललाई पार्टीबाटै निकालियाे भने पाण्डे र  तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरियाे।

व्यक्ति केपी शर्मा ओलीको मनोमानी शैलीको सार्वजनिक रुपमा टिप्पणी गर्दा पार्टीबाट निकालिएका र जिम्मेवारीबाट मुक्त गरिएका नेताहरूले नेतृत्वलाई ‘निरंकुश, स्वेच्छाचारी र तानाशाही’ भनेका छन्।

‘यो केपी ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही प्रवृत्ति हो। उनलाई प्रश्न मन पर्दैन। आलोचकलाई छानीछानी रेट्दैछन्,’ भीम रावलनिकट एक पोलिटव्यूरो सदस्यले प्रश्न गरे, ‘विवादास्पद व्यवसायी मीनबहादुर गुरूङले दान दिएको जग्गा र भवन लिनुहुँदैन भन्ने भ्रष्ट संरक्षकको निर्णयमा फरक मत राख्दा कमरेड भीम रावल, विन्दा पाण्डे र उषाकिरणलाई पार्टीबाटै निकाल्नुपर्थ्यो त!’

त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिएकी पूर्वमन्त्री डा. विमला राई पौडेलले पूर्वउपाध्यक्ष रावलका सन्दर्भमा नबोलेपनि ‘ओलीशैली’को विरोध गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘दिस इज रङ– गलत भयो। नेकपा एमाले बनाउने इमान्दार पिलरको नाम हो, बिन्दा पाण्डे। बच्चैदेखि पार्टीको सिपाही उषाकिरण। मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्नु हुँदैन।’

उपाध्यक्ष पौडेलनिकट अर्का एक नेताले महासचिव शंकर पोखरेलको आलोचना गर्दापनि प्रदेश र जिल्ला तहमा कतिपय नेता–कार्यकर्ताहरूले रावल, पाण्डे र तिम्सेनाकै नियति भोग्नुपरेको गुनासो गरेका छन्।

नेतृत्वले पार्टीको जिम्मेवारी बाँडफाँट गर्दा गुटबन्दी गरेको र पौडेलनिकट नेतालाई तलैसम्म उपेक्षा गरिरहेको उनको आरोप छ। त्यसो त प्रदेश र जिल्ला तहमा कारबाहीमा पर्नेहरू सबैजसो विष्णु पौडेल खेमाकै नेता–कार्यकर्ताहरू छन्।

‘अध्यक्ष र महासचिव कमरेडको योजना डरलाग्दो छ। भीम रावललाई निकाल्नु भनेको विष्णु कमरेडलाई तर्साउनु हो, यो हामीहरूले राम्रोसँग बुझेका छौँ। अन्याय धेरै दिन टिक्दैन, त्योपनि राम्रोसँग थाहा छ,’ ती नेताले भने।

एक महिनाअघि लुम्बिनी प्रदेशका सांसद दुर्गा चाैधरीलाई पनि अध्यक्ष ओली र महासचिव पोखरेललाई गाली गरेकाे भन्दै पार्टीबाट निष्कासन गरिएकाे थियाे। त्यस्तै, उपाध्यक्ष पौडेलनिकट कपिलवस्तुका नेता भेषराज आचार्यलाई पनि महासचिव पोखरेलविरुद्ध अभिव्यक्ति दिएकाे भन्दै पार्टीबाट निकालिएकाे छ।

प्रकाशित मिति: : 2024-12-26 17:56:00

प्रतिकृया दिनुहोस्