गाउँलेको दुःखमा सघाउँदै प्रवासी

रासस

बागलुङ

तीन साताअघि भएको आगलागीले गलकोट नगरपालिका–७ मल्मका जुक्तबहादुर खड्काको घरबास गुम्यो। खाद्यान्न, लत्ताकपडासहित सरसमान सबै जले। लाखौँको भौतिक क्षति भयो । त्यसको केही दिनपछि सोही वडाका लक्ष्मण सुनारको साउदी अरबमा निधन भयो। हृदयाघातका  कारण मृत्यु भएका सुनारको परिवारलाई बज्र प¥यो । श्रीमती, बालबच्चा बिचल्लीमा परे। 

गत फागुनमा रोजगारीका लागि साउदी अरब पुग्नुभएका सुनारको शव उतै रोकिएको छ। परिवारका सदस्यलाई अन्तिमपटक मुख हेर्ने धोको छ। बन्दाबन्दीले शव ल्याउन कठिन छ। प्रक्रिया झण्झटिलो र खर्चिलो छ। यसरी गाउँका दुई छिमेकी परिवारलाई परेको विपद्ले जापानमा रहेका गलकोटेको मन कुँडियो। दुःख, अप्ठेरोमा सघाउन बानी परेका उनीहरुले खड्का र सुनार परिवारका लागि सहयोग अभियान चलाए।

एक सातामै झण्डै रु १५ लाख जुट्यो। अग्निपीडित खड्का परिवारका लागि रु आठ लाख १९ हजार २४४ सङ्कलन भएको अभियानकर्मी दुर्गा थापाले बताए। उनीसहित दिल थापा ‘रामु’ प्रकाश केसी, कृष्ण केसी, दिनेश थापा, तुलवीर थापालगायत अभियानमा जुटेका थिए। 'जापानमा रहनुभएका १४७ भन्दा बढी गलकोटेहरु यो अभियानमा जोडिनुभएको छ' उनले भने, 'हामी सबैको प्रयासले यो सम्भव भएको हो।' अभियान थालेको एक साताभित्रै उक्त रकम सङ्कलन भएको उनको भनाइ छ।

सोही अवधिमा सुनार परिवारको राहतका लागि रु छ लाख १७ हजार ६२० सङ्कलन भएको जापानबाट दिनेश थापाले जानकारी दिए। उनका अनुसार दुवै घटनापछि सङ्कलित सहयोग रकम वडा कार्यालयमा पठाइसकिएको छ। 'वडामार्फत राहत प्रदान गर्ने गरी रकम पठाइसकेका छौँ' दिनेशले भने, 'उक्त रकम पीडित परिवारको हितमा सही ढङ्गले सदुपयोग होस्।' 

वडाध्यक्ष टीकाबहादुर थापाले जापानबाट राहत रकम वडाको खातामा आइसकेको बताए। अग्निपीडित खड्का परिवारको घर निर्माणमा उक्त रकम सहयोग गरिने उनको भनाइ छ। 'पीडित परिवारको पनि राय लिएर उपयुक्त काममा सहयोग गर्छौँ' वडाध्यक्ष थापाले भने। सुनार परिवारमा पनि बालबच्चाको पढाइ र उनीहरुको सुरक्षित भविष्यका लागि राहत रकम प्रदान गर्ने वडाको सोच छ। कमाउन विदेश पुगेका लक्ष्मणको अल्पायुमा निधन भएपछि परिवारमा सङ्कट आइलागेको छ।

अग्निपीडित खड्का परिवारको व्यथा पनि सानो छैन। न्यून आय भएको परिवार भएका कारण सबैको सहयोगको खाँचो छ। यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिले उक्त परिवारलाई राहत प्रदान गरेका थिए। महिला जागरण केन्द्र मल्म, रेडक्रस बागलुङ, लायन्स क्लब अफ धवलागिरिलगायतका सङ्घसंस्थाले राहत रकम र खाद्यान्न सामग्री दिएका थिए। जिल्ला प्रशासन कार्यालयले पनि रु १० हजार उपलब्ध गराएको थियो। 

प्रकाशित मिति: : 2020-06-13 15:48:22

प्रतिकृया दिनुहोस्