लकडाउनमा अभिभावकको जिम्मेवारी

चीनबाट आएको कोरोना भाइरस अहिले संसारभर फैलिएको छ। यतिखेर छिमेकि देश भारत सहित हाम्रो देश नेपाल पनि लकडाउनमा छ। जसको असर मुख्य रूपले शिक्षा, स्वास्थ्य, वित्तिय संस्था र ठूला जनशक्ति भएका कलकारखानालाई परेको छ।

अहिलेको अवस्थामा शिक्षा एकदमै जटिल अवस्थामा रहेको छ। एसईई, त्रिविदेखि मावितहका परीक्षासमेत प्रभावित भएका छन्।

यस्तो समयमा बालबालिकाको दैनिकी बिहानको सूर्योदयसँगै साँझ नसुतेसम्म मोबाइल, टिभि तथा आईप्याडमा बढि हुन्छ। जसको प्रत्यक्ष असर बालबालिकाको कलिलो आँखामा पर्छ नै। साथै मानसिकतामा पनि असर पर्नसक्छ। यो पक्कै उनीहरूको भविष्यको लागि राम्रो होईन।

अब यस्तो समयमा बालबालीकाको ध्यान सिपमूलक क्रियाकलापतर्फ कसरी केन्द्रित गर्ने त?

१. दैनिक तालिका बनाउने

बालबालीकालाई बिहान उठ्ने समयदेखि राति सुत्ने समयसम्म के-के गर्ने त्यसको तालीका अभिभावकले बनाईदिनुपर्छ। जसमा उनीहरुको खाने समय, पढ्ने समय, खेल्न समय, वार्तालाप गर्ने समय र टिभी हेर्ने समय छुटयाई दिनुपर्छ।

२. पोष्टिक आहारयुक्त खाना

बालबालीकाको अर्को चासोको विषय खाना पनि हो। उनीहरूलाई मनपर्ने खाना फरक फरक तरिकाले पकाइदिने  गर्नुपर्छ जसले उनीहरूमा शारीरिक र मानसिक दुवै रुपले तन्दरूस्त हुन मद्दत पुगोस्।

३ बालबालिकालाई समय दिनुहोस्

बालबालिकासँगै अभिभावकको समय पनि मोबाइल मै जाने हुदाँ यस्तो अवस्थामा उनीहरु मोबाईललाई नै आफ्नो साथी सम्झिन बाध्य हुन्छन् र मोबाइलमै आफ्नो बढी समय व्यतित गर्छन्। त्यसैले आमाबुवाले आफ्नो बालबालिकालाई समय दिएर साथी बनीदिए उनीहरूको नराम्रो बानी हट्दै जानेछ।

४.धार्मिक बनाउनुहोस्

भनिन्छ नि, धार्मिक कुराले मानिसको दिमाग शान्त र सकारात्मक राख्छ। र बालबालिकाले बढीभन्दा बढि कुरा नकारात्मक तरिकाले सोच्ने हुनाले उनीहरूलाई धर्मकर्म तर्फ बिहान पूजा पाठ तथा भजन किर्तनतर्फ ध्यान गर्न लगाई राम्रा विचार सुनाउनुहोस्। जसले उनीहरूमा सकारात्मक ऊर्जाको विकास हुन्छ।

५. कथा सुनाउनुहोस्

बालबालिकाले काल्पनिक कथालाई नै आफ्नो यथार्थ सम्झिरहेका हुन्छन्। उनीहरुलाई कथा सुनाउँदा उनीहरूकै व्यवहार आचरणलाई जोडेर सकारात्मक तरिकाले प्रस्तूत गरिए उनीहरुमा हौसला प्रदान हुन्छ। त्यसैले बालबालिकालाई बढी भन्दा बढी कथा सुनाउनुहोस्।

६ . खेल खेल्नुहोस्

बालबालिका खेल एक्लै खेल्न चाहँदैनन्। उनीहरूलाई साथीभाइको आवश्यकता हुन्छ। साथी नपाए अभद्र रूपले खेल्न थाल्छन्। त्यसैले उनीहरूसँग साथीबनेर घरमा भएको खेल खेल्ने र श्रीजनात्मक खेल पनि खेल्न सकिन्छ। जसले उनीहरुलाई आरामदायी महशुस गराउँछ ।

७. प्रोत्साहन गुर्नुहोस्

प्रायः अभिभावकलाई बालबालिकाको काम राम्रो लाग्दैन अथवा ध्यान जाँदैन। बालबालिकाले कुनै काम गर्न खोजे नाई हुँदैन, जस्तो नबोल्नु होस्। उनीहरुलाई आफ्नो लुगा आफैं मिलाउन दिन, टेबल सफा गर्न दिने साथै उनीहरुले रूचाएको काम गर्दा धेरै राम्रो, अति सुन्दर, ज्ञानीजस्ता शब्दको प्रयाग गरेर प्रोत्साहन गर्नुहोस्।

८ . मिठो बोली बोल्नुहोस्

बालबालिकालाई तँ, तेरो जस्तो अभद्र शब्द विष जस्तै लाग्छ। त्यसैले उनीहरूलाई तपाईँ, हजुर जस्तो शब्द प्रयोग गरी सम्बोधन गर्नुहोस्। उनीहरूको प्रत्येक कार्यलाई मिठो बोली बोलेर स्वीकार्ने बानी बसाल्नुहोस्।

९. हेरचाह र मायाको आभास गराउनुहोस्

बालबालिका कलीलो माटो हो। जस्तो सिकाई गर्नुहुन्छ उनीहरू त्यस्तै बन्छन्। त्यसैले उनीहरूलाई गरिने माया र हेरचाह महशुस  हुनुपर्छ। यसले बालबालिकामा सकारात्मक सोचको विकास हुनुका साथै राम्रो आचरण र व्यवहारको विकास गराउँछ।

१०. इन्टरनेटको प्रयोग सिकाईको लागि

अहिलेको समयमा बालबालिकाको लागि युट्यूब, गुगल आदि इत्यादि त बायाँ हातको खेल हो। जसमा बढीभन्दा बढी समय उनीहरू मनोरञ्जनका लागि लिन्छन्।

यदि इन्टरनेटको प्रयोग श्रीजनात्मक अभ्यासको लागि गराइएमा बालबालिकाहरू मानसिक रूपले तन्दुरूस्त हुनुका साथै नयाँ विकासका लागि पनि तयार हुनेछन्।

लेखिका श्रेष्ठ निर्देशिका तथा प्रधान्याध्यापक हुन्।

प्रकाशित मिति: : 2020-04-21 13:59:00

प्रतिकृया दिनुहोस्