दुर्भाग्यवश नेपाली समाजको दुर्दशा भने ३ दशक अगाडिभन्दा मौलिकरुपमा भिन्न छैन
तत्कालीन राजनीतिक व्यवस्थासँग असहमति जनाउँदै नेकपा (माओवादी)ले २०५२ साल फागुनमा जनयुद्ध सुरु गरे । त्यो समयसम्म आइपुग्दा सैद्धान्तिक रुपमा दुइवटा धारणाहरु व्याप्त थियो । पहिलो बहुदलीय प्रजातन्त्रको प्रादुर्भाव भएपछि बलात वा हठात युद्धको ठाउँ रहँदैन । किनकि समाजमा रहेको विभेद मत्थर गराउन बोल्ने लेख्ने तथा मताधिकारको ठाउँ रहन्छ र भिन्नमत राख्ने ठाउँ हुँदा हतियारबन्द युद्ध निस्तेज हुन्छ ।
बहुदलीय प्रजातन्त्रमा देश र जनताका बारेमा निर्णय गर्दा राजनीतिक रुपबाट समाधान खोज्ने र सबैको सहभागितामूलक राजनीतिक प्रतिनिधित्व हुन्छ भन्ने आंकलन थियो । दोश्रो, बहुदल आइसकेपछि देशको विकासमा पनि तीव्रता आउँछ । सबै मुलुकहरुले सहयोग पनि गर्छन् । आफ्नै तवरबाट पनि एक प्रकारको उन्नति पनि हुनेछ । तर मूलधारको सैद्धान्तिक वैचारिक सोच विरुद्ध जनयुद्ध सुरु भयो ।