देशमा मास्क उपलब्ध हुन गाह्रो छ, सजग हुनुस्: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा केन्द्रीय कमिटी बैठक समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फैलिएको कोरोना भाइरसबारे बोलेका छन्। उनले अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखा नपरेकाले त्रसित नहुन आग्रह गरे।

‘दिनको नौ हजारजति मात्रै मास्क उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘देशमा मास्क उपलब्ध हुन गाह्रो छ, सजग हुनुस्।’

उनले अहिले नेपालले दिनको तीन हजार मात्रै मास्क उत्पादन गरिरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको जानकारी गराएका छन् ।

नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले चाइनाज तिब्बत चेम्बर बोर्डर ट्रेडलाई  १२ हजार थान मास्क सहयोग गरेको छ। डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ। चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको हो। 

यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ। चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ। 

आइतबार फिलिपिन्समा कोरोनाबाट एक जनाको ज्यान गएको छ। 

६० लाख जनसंख्या रहेको वुहानको पूर्वी सहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ। वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन्। वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन्।

वुहान सहरबाट ७ लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै सहर छाडेर बाहिर गईसकेका बताएका बीबीसीले जनाएको छ। 

वुहानको पूर्वी सहर वेन्जुउमा बसोबास गर्नेहरूलाई खाना र अन्य अत्यावश्यक सामान किन्नको लागि एउटा परिवारको एक जनालाई दिनमा दुई पटक घरबाट बाहिर निस्कन अनुमती दिएको छ। 

प्रकाशित मिति: : 2020-02-04 01:25:40

प्रतिकृया दिनुहोस्