सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले नहेर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुखका एकल उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ।

नेता सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश फुँयालको एकल इजलासमा परेको हो। रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन्।

तर रिटमाथिको सुनुवाइ न्यायाधीश फुँयालले नगर्ने भएका छन्।

सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ।

 सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन। दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन अाज सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। 

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन्। नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन सकेनन्।

बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन्। वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन्।

सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती र नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ रहेका छन्।

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीकोसमर्थन गर्नेछन्।

प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटा निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ।

प्रकाशित मिति: : 2020-01-27 00:05:12

प्रतिकृया दिनुहोस्