गत वर्षको एक रात उनको सपनीमा सन् २००३ मा इन्डो–नेपाल आर्मी एक्स्पोमा भाग लिँदाको एउटा घटना सर्लक्क आयो। अन्तर्राष्ट्रिय गाइड भएपछि उनको त्यो पहिलो हिमाल आरोहण थियो। उनी विश्वको सर्वोच्च हिमाल सगरमाथामा गाइडको रूपमा छानिएका थिए।
१६ वर्षअघि नेपालको दक्षिणी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर फर्किने क्रममा एउटा दुःखद घटना भयो। नेपाली सेनाका हवल्दार मेजरले फर्किने क्रममा ज्यान गुमाए। हिमाल चढ्न निकै अनुभवी हवल्दार मेजरले सुरक्षाको परवाह नै गरेनन्। उनी डोरी टाँगेको ठाउँभन्दा बाहिर पिसाब फेर्न निस्किए। अगाडि फुस्रो हिउँ रहेछ। एक्कासी गहिरो खाल्डोमा पुरिए।
उनको लास तीस मिटर मुनीबाट आफूले निकाल्दै गरेको दृश्य चिर निन्द्रामा घुमिरहेको देखेपछि लाक्पा शेर्पाको मुटु चस्क्क बिझ्यो। उनलाई फेरि निदाउन गाह्रो पर्यो। तत्कालै अस्पताल पुगेका लाक्पालाई मुटुको धमनी पुरिएको भन्दै चिकित्सकले ‘स्ट्यान’ हाल्न सुझाव दिए।
अहिले उनी बौद्धको आफ्नो डेरामा केही गलेको देखिन्छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको ६ पल्ट आरोहण गरिसकेका लाक्पा यति बेला सिढी चढ्दा पनि स्वाँस्वाँ गर्छन्। तर, उनले हिम्मत भने हारेका छैनन्।
अर्को वर्ष पुनः सगरमाथाको चुचुरोमा पुग्ने योजना छ उनको। त्यसैले उनी यति बेला एकाबिहान उठेर मर्निङ वाक गर्छन्। र, आफूलाई पुरानो अवस्थामा फर्काउने अभियानमा सक्रिय भएर लागेका छन्।
यसै साता डेरामा भेटिएका लाक्पा भन्दैथिए, ‘सबैभन्दा ठूलो कुरा हिम्मत रहेछ। म पुरानो अवस्थामा फर्किने प्रयास गरिरहेको छु।’
लाक्पा शेर्पा, अन्तर्राष्ट्रिय माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष। र, हाल नेपाल माउन्टेन इन्स्ट्रक्टर संघका अध्यक्ष। कुनै बेला उनी अध्ययनका लागि काठमाडौं प्रवेश गरेका थिए। उनको झुकाव सानैदेखि हिमालतर्फ छदैथियो। राजधानी प्रवेश गरेपछि मात्र त्यो सपना पुरा भयो।
काठमाडौंमा दिनहुँको भागदौड पूर्ण जीवनबाट थाकेका लाक्पाले सन् १९९९ मा पहिलो पल्ट पर्वतारोहणको आधारभूत तालिम लिए। यतिले उनको मन मरेन। अर्को वर्ष नै उनले पर्वतारोहणको विशेष तालिम लिए।
यसमा छानिएपछि उनी थप अध्ययनका लागि फ्रान्स पुगे। फ्रान्समा अध्ययनरत रहँदा उनलाई ज्ञान भयो, अन्तर्राष्ट्रिय गाइड भएपछि के–के फाइदा हुँदो रहेछ? त्यसैले नेपाल फर्किएपछि उनीलगायत मिल्ने साथीहरू मिलेर सन् २००५ मा नेपाल राष्ट्रिय गाइड संघ खोले।
आफै भिडेर अन्तर्राष्ट्रिय कोर्ष तयार पारे। यसअघि विदेशी आएर नेपाली गाइडलाई आधारभूत तालिम दिन्थे। यसपछि नेपाली गाइड पनि मर्यादीत भए। सन् २००९ मा नेपाल अन्तर्राष्ट्रिय गाइड महासंघको पूर्ण सदस्य नै भयो।
हेर्दा हेर्दै नेपालमा ५५ जना अन्तर्राष्ट्रिय गाइड नै तयार भइसकेको छ। उनीहरू यति बेला देश विदेश गएर आफ्नो शीप देखाउन तल्लिन छन्। आम्दानी पनि प्रशस्त भइरहेको छ। बाह्रै महिना उनीहरू व्यस्त छन्। हिमालमा हुने जोखिम पनि कम भएको छ।
‘त्यति बेलासम्म नेपाली शेर्पाहरू भरियाको रूपमा प्रयोग हुन्थे। हामीले संघ खोलेपछि बल्ल हिमाल आरोहणमा जाने शेर्पाको छुट्टै पहिचान बन्यो। उनीहरू अन्तर्राष्ट्रिय गाइडको रुपमा सम्मानित भए र त्यही अनुसार पारिश्रमिक पनि पाउन थाले,’ लाक्पाले भने।
उनको जीवनमा थुप्रै उतारचढाव छ। यही उतावचढाव र भावी योजनालाई लिएर बिएल नेपाली सेवाले उनीसँग भिडियो अन्तर्वार्ता गरेको थियो। त्यो अन्तर्वार्ता यस प्रकार रहेको छ।