उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्यन्त्र बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। बागमती प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुनेछ।
प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने बताए।
‘प्रदेशका तीन जिल्लामा बिदा छैन,’ उनले भने, ‘संघमार्फत् कार्यालय रहेका उपत्यकाबाहेक बागमती प्रदेशभित्रका अरू जिल्लामा बिदा हुन्छ।’
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो।