मिलेनियम च्यालेन्स कर्पोरेशनको विरोध गरिरहेका तीन जना भोजपुरबाट पक्राउ

मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङ रहेका छन्। 

स्थानीयका अनुसार उनीहरुलाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो। तर प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबार राति घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो।

सदरमुकामनजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर नै टाँगिएको थियो। उनीहरुले सामाजिक सञ्जालमा पनि एमसीसीको विरोध जनाइरहेका बेला पक्राउ परेको स्थानिहरुले आरोप लगाएका छन्।

स्थानीयहरुले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिनअनुरोध गरेको तर उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएको आरोप लगाएका छन्।

 तर प्रहरीले भने प्रहरी प्रशासनलाई  समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको जनाएको छ। 

प्रकाशित मिति: : 2020-01-17 18:29:13

प्रतिकृया दिनुहोस्