प्रहरीसमक्ष गरे धर्म गुरुले बाल विवाह नगराउने सामुहिक प्रतिबद्धता

नेपालकाे सन्दर्भमा मुलुकी अपराध संहिता २०७४ मा विवाहको लागि उपयुक्त उमेर २० बर्ष तोकिएको छ।

पर्सा जिल्लाका बिभिन्न धर्मका गुरुले बाल विवाह नगराउने प्रहरीसमक्ष सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पहल संस्थाको संयोजनमा बाल विवाह न्युनिकरण तथा रोकथाम सम्बन्धी जनचेतना कार्यक्रममा हिन्दु,मुस्लिम,सिख र ईसाई धर्मका गुरुले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा संयोजक पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बढ्दो बाल विवाह न्युनिकरणका लागि यस प्रकारको जनचेतनामुलक संदेश विभिन्न धर्म गुरुको माध्यमबाट आउनु सकरात्मक भएकाे बताए।  उनले कम उमेरमा विवाह नगराउन तथा यस्ता घटनाकाे जानकारी पाउने बित्तिक स्थानीय प्रहरीलाई खबर गरिदिन हुन सबै सहभागीमाझ आग्रह गरे। 

कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक गाैतम थापाले बालबालिका सम्बन्धमा बनेको कानुन तथा बाल विवाहको अवस्था बारे बार्षिक तथ्याङ्क प्रस्तुत गरेका थिए। नेपालको सन्दर्भमा मुलुकी अपराध संहिता २०७४ मा विवाहको लागि उपयुक्त उमेर २० बर्ष तोकिएको छ।

नेपालको कानुनले केटाकेटी दुबैको उमेर २० बर्ष नपुगी गरेको विवाहलाई बाल विवाह भनि पुष्टि गरेकाे छ। कसैले पनि कम उमेरमा विवाह गरे–गराए कानुनी रुपमा अपराध ठहरिने र दण्ड जरिवाना हुने प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए।

जिल्ला प्रहरी कार्यालय पर्साले विगतमा पनि बाल विवाहसम्बन्धि सचेतनामुलक कार्यक्रम गर्दै आइरहेकाे छ। यस वर्ष उसले ग्रामिण भेगमा अभिभावक मुखी कार्यक्रम तथा प्रत्येक पालिकाको समन्वयमा हरेक विद्यालयमा सचेतना मुलक कार्यक्रम आयोजना गर्ने जानकारी गरायाे।  

चालु आव ०७५–७६ मा महिला तथा बालबालिका खोजतलासको १ सय ३४ वटा निवेदन दर्ता भएकाे, जसमा १ सय २ फेला परिसकेकाे डिएसपी थापाले जानकारी गराए। 

हराएका मध्ये बालबालिका तथा महिला बढी रहेको उनले बताए। बालबालिकाको अधिकार हनन् गरे ५० हजारदेखि ५ लाखसम्म जरिवाना र ३ महिनादेखि १५ बर्षसम्म कैद सजाय हुने प्रावधान छ। 

बाल विवाह गराइएको खण्डमा सो विवाह स्वत: रद्ध हुने तथा मन्जुरी बिना विवाह तथा बाल विवाह गराए २ बर्षको कैद तथा २० हजारसम्म सजाय हुने डिएपी थापाले जानकारी गराए। 

विश्व हिन्दू परिषद् नेपालका ज्योती सम्राटले सरकारले चालेको कदम सह्रानीय रहेको बताउँदै बाल विवाह रोक्न हिन्दु समाज पनि लागिपरेको जानकारी दिए। तर उनले नेपाल सरकारले राखेको २० बर्षको उमेर बढी भएकाले १८ बर्षको उमेरमा विवाह गराउने नियम राख्दा समय अनुसार अभिभावलाई सहज हुने सुझाव दिए। 

दलित समाजमा बाल विवाह बढी हुने गरेकाले ति समुदायमा जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने क्रिस्चियन समाजका राम प्रसादले अवगत गराए। 

धर्म ग्रन्थमा कानुन अनुसार उचित विवाह गर्ने खुलस्त बताइएकाे छ। तर, अविभावकमा चेतनाको कमिले गर्दा छोराछोरीको २० बर्ष भन्दा कम उमेरमै विवाह गर्ने समस्या यथावत रहेको धर्मगुरुकाे भनाई थियाे। हरेक धर्मका गुरुले प्रवचन तथा धार्मिक समारोह, जुमा मिलाद जस्तो विशेष अवसरमा सर्वसाधारणलाई जानकारी गराउँदा प्रभावकारी हुने मदरसा समाजका नुरुलहोदा आलमले बताए।  

पहल संस्थाका दीलिपराज कार्कीले सहजीकरण गरेको सो कार्यक्रममा मदरसा बोर्ड प्रदेश–२ का शशी कपुर मियाँ, क्रिश्चियन समाजका नारायणप्रसाद आचार्य, सिख धर्मगुरु अमरजित सिंह, ईन्सेक पर्साका अध्यक्ष केसी लामिछानेलगायत करिब ५० भन्दा बढी धर्म गुरुको सहभागीता रहेको थियो।

 

प्रकाशित मिति: : 2020-01-14 22:57:31

प्रतिकृया दिनुहोस्