आईएसमा लागेकी किशोरीको नागरिकता ब्रिटेनद्वारा रद्द

PA

पन्ध्र वर्षको उमेरमा चार वर्षअघि इस्लामिक स्टेट (आईएस) समूहका लडाकुसँग बिहे गर्न लन्डन छाडेर सिरिया पुगेकी एक किशोरीको ब्रिटिश नागरिकता रद्द गरिएको छ।उनको आमाबुवा बाङ्ग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको ब्रिटिश अधिकारीहरूले बताएका छन्।

शमिमा बेगमलाई गत साता एक सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो।आईएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा उनी त्यहाँ पुगेकी थिइन् र सप्ताहान्तमा उनले त्यहाँ छोरालाई जन्म दिइन्।

सोमवार बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले आईएसका लागि एउटा प्रतीक बन्न आफूले कहिले नखोजेको र अब चुपचाप ब्रिटेनमा फर्किएर बच्चा हुर्काउन चाहेको बताएकी थिइन्।

 ब्रिटिशको १९८१ को ब्रिटिश राष्ट्रियतासम्बन्धी ऐनबमोजिमकानुनअनुसार गृहमन्त्रीले दुईवटा शर्त पूरा भए कसैको नागरिकता रद्द गरिदिन सक्छन्।पहिलो, यदि त्यसो गरिनु सर्वसाधारणको हितमा छ र दोस्रो, यदि ती व्यक्ति राज्यविहीन बन्दैनन् भने।शमिमाको हकमा उनको आमाबुवा बाङ्ग्लादेशी भएकाले उनी राज्यविहीन नहुने तर्क गरिएको छ।

बाङ्ग्लादेशले चाहिँ शमिमालाई स्वीकार्छ या स्वीकार्दैन भन्ने प्रस्ट छैन।अन्तर्राष्ट्रिय कानुनअनुसार सरकारहरूले नागरिकलाई राज्यविहीन बनाउन सक्दैनन्।बीबीसीका सम्वाददाता बेन एन्डो भन्छन्, "गृहमन्त्री तथा अधिकारीहरूको विश्वास के छ भने शमिमाका आमाबुवा बाङ्ग्लादेशका भएकाले उनी त्यहीँको नागरिक हुन योग्य छिन्। तर बाङ्ग्लादेश उनलाई लिन तयार छ भन्ने बारे भने त्यत्तिकै आशा गरिएको देखिन्छ।"

शमिमा बेगमले गत सप्ताहान्तमा एक छोरालाई जन्म दिइन्। यसअघि उनले दुई बच्चा गुमाइसकेकी छन्। उनको श्रीमान् इस्लाम अपनाएका एक डच नागरिक हुन्। तिनले दुई साताअगाडि सिरियाली लडाकुहरूसमक्ष आत्मसमर्पण गरेको बताइएको छ। 

उनको बाङ्ग्लादेशी मूलकी भएको भनिए पनि बीबीसीसँगको अन्तर्वार्तामा उनले आफूसँग बाङ्ग्लादेशी राहदानी नभएको र कहिल्यै बाङ्ग्लादेश नगएको बताइन्।बेगमको नवजात शिशुको हकमा कानुनअनुसार नागरिकताबाट वञ्चित गरिनुअघि ब्रिटिश अभिभावकको कोखबाट जन्मिएकाहरूलाई ब्रिटिश नै मानिने उल्लेख छ।

प्रकाशित मिति: : 2019-02-22 00:41:19

प्रतिकृया दिनुहोस्