कीर्तिपुरस्थित हनुमानघाटमा रहेको एउटा घर। जहाँ १७ वर्षको छोरीसँगै एउटा कोठा लिएर बसेकी छिन्, कमला विक। उनी आँखा देख्दिनन्। सबै कुरा म जस्तै छामेर अन्दाज लगाउनु पर्ने हुन्छ।
केही दिनअघि उनको विषयमा जानकारी पाएपछि म ‘सेतो छडी’ को सहाराले उनलाई भेट्न डेरा पुगे।
मैले आफ्नो परिचय दिँदै भने– दिदी नमस्ते! म जीवन बनियाँ। हजुर जस्तै आँखा देख्दिन्।’
मेरो कुरा सुनेर दिदीले खैँ के सोचिन? मलाई थाहा भएन!
तर, उनको संघर्षमय जीवन गाथा सुनेर म चाहीँ निकै प्रभावित भए। संसार यसै पनि दुःखको पहाड हो। यसमा पनि आँखा नदेख्नु! यसले कति ठूलो कष्टलाई बोकेको हुन्छ? त्यो मैले राम्रोसँग अनुभव गरेको छु।
त्यो मानेमा दिदीको दुःख म बाहेक अरुले कमै बुझन् सक्छन्।
मेरो सामान्य परिचयसँगै उनले भनिन्, ‘अँचार बनाउन लागेको।’
आँखा नदेख्ने भएपनि मैले घरमा सुन्दै आएको थिए– अँचार बनाउन धेरै झन्झट हुन्छ। नुन, तेल र मसलाको समिश्रणपछि मात्र अँचार स्वादिष्ट बन्छ। यि तीन कुरामध्ये कुनै बढी वा कम भए, सारा अँचार बेस्वादिलो हुन्छ।
मैले दिदीलाई सोधे, ‘अँचार बनाउन त धेरै झन्झट हुन्छ नि? नुन, तेल र मसला कसरी अड्कल्नु हुन्छ?’
वास्तवमा उनले यही वर्ष घरेलु तथा साना उद्योग मन्त्रालयले कीर्तिपुरमा आयोजना गरेको तालिममा अँचार बनाउने कला सिकेकी रहेछिन्। यहीँ एक महिने तालिमले उनलाई निपूर्ण बनाएको रहेछ।
भनिन्– ‘मसला त म सुघेँर पत्ता लगाउँछु।’
कमला विकको जन्म गोर्खामा भएको थियो। उनी ६ वर्षको हुँदा दादुराबाट प्रभावित भइन् र यसै क्रममा आँखाको ज्योति गुम्यो। उनी अध्ययनका लागि २०४३ सालमा बुवासँगै काठमाडौं आएकी थिइन। उनले एसएलसीको पढाई ललितपुरको नमुना मच्छेन्द्र स्कुलबाट पुरा गरिन्।
एसएलसीको परीक्षा दिनुअघि उनलाई ‘स्पोन्सर’ गर्ने व्यक्तिको निधन भयो। त्यसैले उनले २०५४ सालमा नियमित विद्यार्थीको रुपमा परीक्षा दिन सकिनन्। तर, अर्को वर्ष पास गरिन्।
उनले एसएलसी दिँदै गर्दा बुवाको मति बिग्रियो। आमा दुईवटी। पहिले साँधु मानिने बुवा अब रक्सी पिएर आमा कुट्न थाले।
यसले कमलाको मस्तिष्कमा दूरगामी असर पार्यो। उनी आफूलाई टुहुरो महसुस गर्न थालिन्। १७ वर्ष नपुग्दै उनमा परिवर्तन देखिन थाल्यो। र, साथीभाईकै लहलहमा आफू जस्तै आँखा नदेख्ने धनुषाका एक पुरुषसँग सम्बन्धमा गाँसिन पुगिन्।
‘घरको अवस्था पनि राम्रो थिएन। मलाई कसैले माया गर्दैन जस्तो लाग्थ्यो। त्यसैले १७ वर्षको उमेरमै विवाह गर्न पुगे,’ कमलाले भनिन्, ‘उ पनि आँखा देख्दैन्थ्यो। त्यसैले उसले मेरो भावना बुझ्छ जस्तो लाग्यो।’
अहिले उनी श्रीमानको व्यवहारबाट पनि आजित भइसकेकी छिन्। विवाह हुँदा उनको श्रीमान हिमालयन डेरीमा काम गर्थे। पछि उनले गायनलाई पेशा बनाए। अहिले काठमाडौंको विभिन्न स्थानमा गीत गाउँदै हिड्छन्।
उनी मन लागेको बेला पैसा पठाउँछन्, नलागे सम्पर्कविहिन। ‘तसँग मेरो छोरी छ, त्यही भएर पैसा पठाएको हो भन्दै मानसिक पीडा दिन्छ। उसको बदलिएको व्यवहार देखेर मलाई अचम्म लाग्छ,’ गह्रौं मन पार्दै उनी प्रश्न गर्छिन्, ‘परिवारप्रति उसको केही जिम्मेवारी छैन त?’
छोरी दिपशीखा हाल कीर्तिपुरको शहिद स्मारक कलेजमा मानवशास्त्र विषय लिएर ११ कक्षामा अध्ययनरत छिन्। उनको भविष्यको इच्छा छ, पढाई पुरा गरेपछि एउटा राम्रो जागिर खाएर आमालाई सुख दिने।
३७ वर्षे उमेरमा कमलाको दैनिकी अहिले अकबरे टल्ले खुर्सानी, तिते करेली र मेथीको अँचार बनाउनमै बित्छ। उनलाई यो काम गर्न एकजना मनकारी ज्वाँला कुँवरले १० हजार रुपैयाँ उपलब्ध गराएका थिए।
उनीसँग अँचार बनाउन छुट्टै भाडा पनि छैन। उनी आफूले खाना बनाउने भाडामै अँचार बनाउँछिन्।
कुराकानीकै क्रममा उनले भनिन्, ‘४२–४३ डब्बा अँचार बनाएको छु।’
उनलाई स्वावलम्बी बन्ने इच्छा छ। उनी आफूले थालेको पेशालाई उद्योगको रुपमा विस्तार गर्न चाहन्छिन्।
‘कसैले मलाई अँचार बनाउने सामाग्री र यसलाई व्यवस्थापन गर्ने भाँडाहरू सहयोग गरिदिएको खण्डमा अझैं राम्रोसँग काम गर्न सक्थे,’ उनले भनिन्।
उनी फिनेल र साबुन बनाउने काममा पनि उत्तिकै पोख्त छिन्। ‘अहिले मलाई धेरै गाह्रो भइरहेको छ। अँचारमा प्रयोग हुने मसालाको मूल्य बढेको छ। यसले सामान बिक्रि गर्न गाह्रो भइरहेको छ’, उनले भनिन्।
उनले बनाएको अँचार हाल साथीभाई र इस्टमित्रले किन्दै आइरहेका छन्। उनी यसलाई बजारमा पनि स्थापित गर्न चाहन्छिन्। उनको अभियानमा सफलता मिलोस्। मेरो तर्फबाट दिदीलाई अग्रिम शुभकामना!