विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा

फाइल तस्बिर

पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ ।

नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले जनाएको छ । 

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेशिया, इण्डोनेशिया, भियतनाम, सिङ्गापुर, जापान, ताइवान, ओमान, इजरायल र  दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेनलगायतका देशबाट प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।

साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल हुने एशोसिएसनका अध्यक्ष डा शितलकाजी श्रेष्ठले बताए।

सम्मेलनमा जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानलाई पारेको असर र त्यसलाई न्यूनीकरण गर्न गरिने उपायहरुमाथि समेत छलफल गर्ने योजना रहेको उनले बताए।

सम्मेलनमा १६१ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको एशोसिएसन गण्डकीका सहसचिव डा गणेश केसीले जानकारी दिए। सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्।

प्रकाशित मिति: : 2019-11-07 07:55:00

प्रतिकृया दिनुहोस्