घटना साइबर क्राइमको, मुद्दा अभद्र व्यवहारको

बिएल

साइबर क्राइम (विद्युतीय अपराध) ऐन अन्तर्गतको घटना गराएका एक व्यक्तिमाथि मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको छ ।

सामाजिक सञ्जालमार्फत महिलालाई अश्लिल म्यासेज पठाएका विराटनगर–३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालेको हो । नेपाल जग्गा कारोबारी एवं पर्यटन व्यवसायी हुन् । उनी लायन्स क्लबमा पनि सक्रिय छन् । सामाजिक सञ्जालमार्फत गरेको दुर्व्यवहार वा गाली गलौज एवं अश्लिल हर्कतमा विद्युतीय अपराध ऐन अन्तर्गतको मुद्दा चल्छ ।

तर यो घटनामा चलाउनु पर्ने ठूलो मुद्दालाई ओझेलमा पार्दै प्रहरीले कम सजाय हुने मुद्दा चलाएको स्रोतको भनाइ छ । दबाबका भरमा प्रहरीले घटनालाई मोडेको हुन सक्ने अनुमान गरिएको छ । विराटनगर पुष्पलाल चोककी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका नेपाललाई मंगलबार अभद्र व्यावहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनका अनुसार नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएका थिए ।

पीडित महिलाले लिखित उजुरी दिएपछि नेपाललाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको खिँउजुको भनाइ छ । प्रहरीले पीडित महिलाले साइबर क्राइम अन्तर्गत मुद्दा चलाउन नमानेपछि अभद्र व्यावहार मुद्दा दर्ता गरिएको जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-06 22:21:03

प्रतिकृया दिनुहोस्