गाडेको अवस्थामा शिशु भेटिएपछि १५ वर्षीय बालिका पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–६ मा गाडेको अवस्थामा भेटिएको नवजात शिशुलाई बाहिर निकाल्न खोजिँदै । बिएल

आफ्नै गर्भमा रहेको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–६ की १५ वर्षीय बालिकालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबहादुर ढकाल नेतृत्वको टोलीले मंगलबार साँझ शिशुकी आमा रहेकी बालिकालाई पक्राउ गरेको हो ।

स्थानीय मेनुका दवाडीको घर पछाडि रहेको करेसाबारीमा सात महिनाको शिशुलाई गाडेको अवस्थामा मंगलबार साँझ मृत फेला पारिएको थियो । बारीमा टमाटर रोप्ने क्रममा हातले माटो खोस्रदा शिशुको हात तानेपछि मेनुकाले आत्तिएर हारगुहार गर्दै प्रहरीलाई खवर गरेकी थिइन् ।

इन्सपेक्टर ढकालले सालनालसमेत नकाटिकन लगभग एक फुट जति खनेर गाडेको अवस्थामा शिशु भेटिएको बताए । आमा बालिका भएकाले उनको परिचय भने गोप्य राखिएको छ । हत्या गरेर शिशु फ्यालेको पाइएपछि आमालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृत भेटिएकी शिशु छोरी हुन् । गाडेको ठाउँबाट बाहिर निकाल्दै प्रहरीले मृत शिशुलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगेको छ ।

पक्राउ परेकी बालिकाले केही दिन अघि गर्भपतनको औषधि समेत सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । औषधि सेवन गरेर गर्भपतन गर्दै शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी बालिकाको स्वास्थ्यमा केही समस्या रहेको पाइएपछि उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको इन्सपेक्टर ढकालले बताए ।

शिशुको बुवा पत्ता नलागेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । गत वैशाखमा कानेपोखरी गाउँपालिका–७ स्थित ठूलो बुवाको घरमा गएका बेला चिनजान भएका युवकसँग अवैध सम्बन्ध भएको र त्यही बेला गर्भ बसेको पक्राउ परेकी बालिकाले स्वीकार गरेको इन्सपेक्टर ढकालले बताए । नाम र ठेगाना भने बालिकाले पनि दिन नसकेको र प्राप्त हुलियाका आधारमा युवकको खोजी भइरहेको उनले बताए । ढकालले डीएनए परीक्षणका लागि पनि नमुना पठाइने जानकारी दिए ।  

 

प्रकाशित मिति: : 2019-11-06 19:38:38

प्रतिकृया दिनुहोस्