सपना देख्नलाई आँखा देख्नु पर्दैन

तस्बिरः बिएल

दृष्टिबिहीन भए पनि सुशील अर्याल यति बेला थेरापी गर्न व्यस्त छन्। काठमाडौंको बसुन्धरा चोकस्थित चाइनिज हस्पिटलको ग्राउन्डफ्लोरमा उनको ‘कोरियन थेरापी सेन्टर’ छ।

उनी अकुपेसर थेरापिस्ट हुन्। ढाड, कम्मर, हात, खुट्टा, जोर्नी, गर्दन दुखेका बिरामीको मसाज र थेरापी गर्छन्। प्यारालाइसिस भएका बिरामी पनि उनलाई खोज्दै आउँछन्। उनी भन्छन्, ‘थकान मेट्न, आलस्यपन, निद्रा नलाग्ने, नसा च्यापिएको, हात–खुट्टा झमझमाउने रोग निको पार्न सक्छु,’ उनी प्राकृतिक तरिकाले मसाज र थेरापी गर्छन्।

एक घण्टा थेरापी गरे बापत एक हजार शुल्क लिन्छन्।

थेरापी सिक्नुअघि धुप बेच्ने गर्थेँ। ६ महिनासम्म धुप बेच्न मिल्ने र पानी परेको बेला गाह्रो हुने भएपछि छोडे। त्यसपछि उनले सन् २०१३ मा थेरापीको तालिम लिए।

थेरापी प्राकृतिक चिकित्साबाट गरिने उपचार हो।

यस अन्तर्गत ढाड, कम्मर दुख्ने, नसा च्यापिएको, हात खुट्टा झम्झमाउने, पोल्ने, सुगर, प्रेसर, थाइराइड, निन्द्रा नलाग्ने, आलश्य बनाउने, बढी थकाई लाग्ने लाई निद्रामा बदल्ने, रगत सन्चालन नभएको जस्ता रोगहरु थेरापी(अकुप्रेसर) बाट नसोचेको अनुरुपमा निको हुन्छन ।

काठमाडौं धोबिधारास्थित 'न्यू लाइट ब्लाइन्ड नेपाल' को आयोजनामा तालिम सुरू हुने सुनेपछि उनी त्यहाँको ढोका ढक्ढकाउन पुगे।

सिटिइभिटीबाट मान्यता प्राप्त सो संस्थामा १६ महिनाको थेरापी सिके। त्यहीँ तालिम थियो, जसले सुशीलको जीवनलाई पृथक मोड दिलायो। त्यसपछि उनी बने प्राकृतिक चिकित्सालयको मालिक।

हाल उनले थेरापी गराइरहेको सटर भाडाको हो। उनी त्यसको मासिक १६ हजार तिर्छन्। उनले हालसम्म ७ हजार जनाको थेरापी गराइससेका छन्। भन्छन्, 'बिरामीको उपचार गर्न पाउँदा खुसी लाग्छ। छुट्टै आनन्द आउँछ। फरक खालको सन्तुष्टि मिल्छ। लाग्छ मनैबाट संसार नियालीरहेको छु।'

उनले आफ्नो थेरापी सेन्टर खोल्नुअघि काठमाडौंका थुप्रै थेरापी सेन्टरमा काम गरिसकेका छन्। मानिसहरुको पीडालाई सम्झिदै भने, 'मानिसहरुले हात दुख्यो, खुट्टा दुख्यो, शरीर दुख्यो, भनेको सुन्दा नरमाइलो लाग्थ्यो।'

जान्ने बुझ्नेले थेरापीको बारेमा कुरा गर्दा उनलाई पनि तालिम लिन मन लाग्यो। आफूले पनि बिरामीको सेवा गर्न पाएको भए हुन्थ्यो जस्तो लाग्यो। बिरामी मानिस निको भएर सन्तोषको सास फेरेको आफैंले महसुस गर्न पाए हुन्थ्यो जस्तो लाग्यो।

'सेवा गर्ने धोको पूरा भएको छ। औधि सुख मिलेको छ। स्वर्गीय आनन्द अनुभूति हुन्छ,’ सुशील भन्छन्, 'आम्दानी पहिलो प्राथमिकता जस्तो देखिन गए पनि सेवा मुख्य कुरा हो। अहिले सेवा गरिरहेको छु। सुन्छु सेवा नै धर्म हो।'

सुशीलको थेरापी सेन्टरमा दिनहुँजसो एक दुई जना आइरहेकै हुन्छन्। कहिलेकाहीँ त खाली पनि हुन्छ।

उनलाई सेवा गर्ने अवसर जुराउन खोलिएको थेरापी सेन्टरको लगानी पाँच लाख हाराहारी छ। हालसम्म आफैं काम गरिरहेका उनी चाँडै नै केही मान्छेलाई जागिर दिने तयारीमा छन्।

सेन्टरमा एउटा काउन्टर छ। उपचारका लागि दुई वटा बेड छन्। उनीसँग कुरा गर्दा गर्दै मेरो हात टेबुलमाथि ठडाएर राखिएको सिसा आकारको वस्तुमा पर्न गयो। मैले 'के हो?' भनेर सोधेँ। उनले भने, 'प्रमाण पत्र हो।'

हाल उनका बुबा कृषि मन्त्रालयको उप-सचिव पदमा कार्यरत छन्। माइलो छोरा सुशील जन्मजात दृष्टिविहीन हुन्। उनका दाइ अस्ट्रेलिया र भाइ अमेरिकामा बसेर पढाइ गरिरहेका छन्।

कोरियन थेरापीमा अव्यस्त सुशील गुल्मीमा जन्मिएका हुन्। हाल उनी किर्तिपुर मैत्रिनगरमा बस्दै आएका छन्।

सानो उमेरमा मनिग्रामको शान्ति स्कुलमा पढ्न गएका थिए। त्यहाँको पढाइले उनको चित्त बुझेन। पछि उनले पढाइ छोडे। धुप बुच्दाबेच्दै थेरापी सिक्न लागे। त्यसबाट आफ्नै थेरापी सेन्टर खोल्ने योजना बनाए। उनले बिएल नेपालीसँगको सम्बादमा उनले भने, 'यो सेन्टर खोल्नका लागि मैले पहिले काम गरेको पैसा जम्मा गरेर राखेको थिएँ। त्यसैले सेन्टर खोल्न गाह्रो भएन।'

उनी २२ वर्षको हुँदा बुबाको जागिर काठमाडौंमा थियो। त्यही बेला उनी काठमाडौं आएको बताउँछन्। त्यतिन्जेलसम्म उनको जीवन अँध्यारो कोठामा बितेको थियो। 'प्रायजसो म कोठाभित्र नै बस्थेँ। आमाबुबा बाहिर निकाल्न चाहनु हुन्थेन।' उनी विगत सम्झदै भन्छन्, 'उहाँहरु काम गर्ने हामी छदैछौं तिमी घरमै बस भन्नेहुन्थ्यो। यसो भनेको सुन्दा चित्त दुख्थ्यो।'

सुशील समय कटाउन रेडियो सुन्ने गर्थे। उनलाई त्यसबेला आमाबुबाले घर बाहिर ननिस्किन माया गरेर भनेको भए पनि अपाङ्गताको कारण उहाँहरुलाई लाज लागेको हुनुपर्ने लाग्छ।

अझै पनि हाम्रो समाजमा अपाङ्गता भएका कयौं मान्छेहरु कोठामै बन्द भएको हुनसक्ने ठान्छन्।

जब उनी काठमाडौं आए त्यसपछि उनी आफूजस्तै दृष्टिविहीन साथिहरुको संगतमा लागे। उनलाई विस्तारै सबै कुरा सहज लाग्न थाल्यो। केही काम गर्न मन लागेर आयो। आमाबुबाले पनि छोराले केही गर्न सक्छ भन्ने मान्नुभयो।

अब उनी परिवारबाट पनि साथ सहयोग पाउन थाले। भन्छन्, 'हत्केला र हातको कुम नै मेरो थेरापी गर्ने मेसिन हो।'

आफूलाई अगाडि बढाउन  सहयोग गर्ने र विस्वास गर्नेप्रति उनी कृतज्ञ छन्। आभार प्रकट गर्छन्। उनीहरुले दिएको उर्जाकै कारण सम्मानका लागि शिर झुकाउन तयार हुन्छन्।

काठमाडौंको एसिया आयुर्वेदिक औषधालय लगायत पाँच स्थानहरुमा काम गरिसकेका सुशील अरुलाई पनि जागिर दिने चाहना बोकी गत तीन महिनादेखि आफैले सञ्चालन गरिरहेको कोरियन थेरापी सेन्टरमा सुन्दर भविस्य देखिरहेका छन्।

पछिल्लो समयसम्म आइपुग्दा दृष्टविहिनहरू शिक्षक, सञ्चारकर्मी, अधिकृत, गायक, थेरापी लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छन्।

'खाने मुखलाई जुँगाले छेक्दैन,' भने जस्तै अवसर पाएमा हरेक व्यक्तिले जस्तो पनि काम गर्न सक्छन्।

यो समाजका लागि सुशील एक उदाहरण हुन्। उनले जुन सपना देखे पूरा गरे। सपना देख्नलाई आँखा देख्नु पर्दैन। बस मन भए पुग्छ।

प्रकाशित मिति: : 2019-10-26 07:50:29

प्रतिकृया दिनुहोस्