दसैंमा चढ्यो अपराधको ग्राफ : ५० जबरजस्ती करणी, २४ जनाको हत्या

तस्बिरः बिएल

सभामुख महरा प्रकरण मात्र होइन, देशभर दशैंका समयमा अन्य अपराधका घटना भइनै रहे, सधैं झैं। दशैंको अवधिमा देशभर जबरजस्ती करणीका ५० वटा भन्दा बढी घटना घटेको प्रहरी तथ्यांकमा छ। महरा- रोशनी काण्ड पनि यही सूचीभित्र पर्छ।

प्रहरीमा जबरजस्ती करणी उद्योगमा २० वटा घटना दर्ता भए। यद्यपी अघिल्लो दसैंको तुलनामा प्रहरीमा दर्ता भएका यही प्रकृतिका घटनाको संख्या भने कम हो।

यद्यपी समग्र अपराधको ग्राफ भने प्रत्येक दशैंमा उक्लिँदै गइरहेको छ।

घटस्थापनादेखि पूर्णिमासम्म २४ जनाको हत्या भयो। तथ्याङ्क अनुसार २०७४ सालको दशैंमा भन्दा झन्डै दोब्बर संख्यामा मानिसको हत्या भयो।

अघिल्लो वर्षको तुलनामा यो संख्या बढी नै हो। २०७५ सालको दशैंमा १८ जनाको हत्या भएको रेकर्ड प्रहरीमा छ।

'प्रहरीको सुरक्षा कमजोरीको कारण हत्याको संख्या बढेको भने होइन। यो सामाजिक विकृतिको कारण घरभित्रकै झगडामा हत्या बढी भएका छन्,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बिएल नेपाली सेवासँग भने, 'यस बीचमा भएका हत्यामा प्रोफेशनल क्रिमिनलको संलग्नता देखिएको छैन।'

यस वर्षको दशैंमा देशभरि ७ सय ८९ वटा आपराधिक गतिविधि भए। दुई जना व्यक्तिको अपहरण, ४ जना बालबालिका माथि यौन दुराचार, ८ वटा डाँका चोरीलगायत घटना।

२०७३ सालको दशैंमा ५ सय ७७ वटा घटना भएका थिए। २०७४ सालमा घटनाले बढुवा पाएर ६०१ मा पुगेको थियो। २०७५ सालमा ६ सय ४५ पुगेको थियो।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोखरेलले प्रहरीको कन्ट्रोलभन्दा बाहिर घटना भएकाले संख्या बढेको बताउँछन्।

यो पनि हेर्नुहोस्- सम्राइ लगाइरहने जुम्लाका जुम्ल्याहा डाँडा 

जुम्लाको एउटा होटेलमा पाइला मात्र के टेकेको थिएँ भेट भयो तीन जना अमेरिकनहरूसँग। साथमा थिए एक नेपाली ठेकेदार पनि। ठेकेदार यस अर्थमा कि क्रिश्चियन धर्म प्रचारका लागि स-सानो पसल थापेका रहेछन् नेपालगञ्जमा तिनले। Details

'यस वर्षको दशैं सुरक्षित नै रह्यो। घरभित्रका घटना प्रहरीले मात्र रोक्न सक्दैन। त्यही घटनाले संख्या बढेको हो,' डिआइजी पोखरेलले भने।

सवारी दुर्घनामा कमी

घटस्थापनादेखि २४ गतेसम्म ५ सय ९९ वटा सवारी दुर्घटना भए।

प्रहरीको तथ्यांक अनुसार दुर्घटनामा परी ९८ जनाले ज्यान गुमाए। त्यस्तै २ सय ७४ जना गम्भीर घाइते भएर उपचाररत छन्।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै उपत्यकाभित्र सवारी दुर्घटना भए। उपत्यका भित्र मात्र ९ जनाले ज्यान गुमाए।

गत वर्षको तुलनामा भने यसपटकको दसैंमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको छ।

यसअघि २०७५ सालको दसैंमा भएका सवारी दुर्घटनामा १ सय २९ जनाको मृत्यु भएको थियो।

'प्रहरीको दसैं सडक सुरक्षा अभियान र चालकलाई गराएको सचेतनाले गर्दा नै दुर्घटनामा कमी भएको हो,' प्रवक्ता पोखरेलले भने।

२०७४ सालको दशैँमा देशभरि ३ सय ८० वटा सवारी दुर्घटना भएका थिए। त्यसमा १ सय ४ जनाले ज्यान गुमाएको तथ्याङ्क प्रहरीमा छ।

घटस्थापनादेखि पूर्णिमासम्मका घटनाहरू
⦁ जबरजस्ती करणी- ५०
⦁ हत्या - २४ जना
⦁ आपराधिक गतिविधि- ७ सय ८९ वटा
⦁ अपहरण- २
⦁ बालबालिका माथि यौन दुराचार- ४
⦁ डाँका चोरीलगायत घटना- ८ वटा
⦁ सवारी दुर्घटना- ५ सय ९९ वटा
⦁ सवारी दुर्घटनामा मृत्यु- ९८
⦁ सवारी दुर्घटनामा गम्भीर घाइते- २७४
प्रकाशित मिति: : 2019-10-17 19:46:38

प्रतिकृया दिनुहोस्