मनाइयो कोजाग्रत पूर्णिमा

तस्बिरः रासस

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। विजया दशमीका दिनदेखि शुरु भएको मान्यजनबाट दुर्गा देवीको प्रसाद टीका र जमरा ग्रहण गर्ने क्रम पनि आजैबाट अन्त्य भएको छ।

आजको दिन राति जाग्राम बसेकाको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा आज मध्यराति महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसिन्छ। माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा अर्थात् आजै समाप्त हुन्छ ।

आज मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। सबै बलि दिने काम भने शनिबार नै सम्पन्न भएको उनले बताए। पूर्णिमा ब्रत, आकाशदीप दान र कात्तिक स्नान पनि आजैदेखि शुरु भएको छ। बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याई आकाशदीप दान गरिन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आज बिहानदेखि नै शुरु भएको छ। आइतबारदेखि तुलसी पूजा गरी कात्तिक शुक्ल एकादशीका दिन दामोदरसँग तुलसीको विवाह गरिन्छ।

विवाहपछि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म विधिपूर्वक यज्ञ गरेर चतुर्मासा व्रत समापन हुन्छ । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको तुलसी पूजा आजदेखि कार्तिक स्नान एवम आकाशदीप दानसहित विशेष रुपमा गर्ने शास्त्रिय विधान छ।

प्रकाशित मिति: : 2019-10-13 22:18:01

प्रतिकृया दिनुहोस्