‘आज भोलि जीवनदेखि दिक्क लाग्न थालेको छ। केही नयाँ गरौ भन्ने जाँगर हरायो। भएको सामान मिलाउन समेत जाँगर चल्दैन,’ आफ्नो दश रोपनी जग्गाको बिचमा रहेको दरबार वरपर घुम्दै सरदार प्रितम सिंह (८४)ले भने।
दश वर्षअघि श्रीमती हरचरण कोरको मृत्यु पछि एक्लिएका उनलाई एक्लोपनले सताइरहन्छ।
उनको घरको बनावट र सजावट हेर्दा कुनै दरबारभन्दा कम थिएन। पुरानो शैलीमा बनेको घर र सजावट पनि त्यस्तै मन छुने थियो।
प्रितम सिहंले आफ्नो बैठक कोठाभरी स्वर्गीय राजा वीरेन्द्रसँगका तस्वीर सजाएर राखेका थिए।
ठिक दाँया पट्टी राजपूत शैलीमा उनका नाति अगंदको विवाहका तस्बिर झुण्डाइएको थियो।
प्रितम सिंह जब पहिलो पटक दाङको तुल्सीपुर आएका थिए। त्यसपछि भारत फर्कदा नेपाल कहिल्यै नफर्कने भनेर गएका थिए। तर, भोलि के हुन्छ कसलाई के थाहा? भनेझै प्रितम सिंह त्यसको एक वर्ष पछि नै ६२ वर्ष अघि भारतको जम्मुबाट काठमाडौंमा आउनुपर्यो।
प्रितम सिंह नेपालमा पहिलो ट्रक चलाउने व्यक्ति हुन्। २२ वर्षैकै उमेरमा काठमाडौं आएका उनलाई त्यो बेला भारतबाट काठमाडौं पुग्न एक महिना लागेको थियो।
प्रितमका बुवा सरदार कहन सिंह जम्बुको पहिलो यातायात व्यवसायी थिए। उनी भारतमा ठूलै ट्रान्सपोर्टर थिए।
‘नेपालमा मालवाहक ट्रक छैनन्। हामी जम्मुमा बसेका, पहाडमा गाडी चलाउन जानेका छौ। त्यही भएर हामी काठमाडौंमा ट्रक चलाउन सक्छौं। अरू कसैले आँट गदैन तिमी जाउँ,’ बुबाले यति भनेपछि प्रितम सिंह नेपाल आएका रहेछन्। प्रितम हाँस्दै भन्छन्,‘बुबालाई पहिला नै थाहा रहेछ। बाटो घाटो।’
प्रितमले खासमा पाइलोटिङ्ग कोर्स गरेका थिए। तर, हवाइजहाज चलाउने बेलामा उनकी आमा रोएर नजाउ भनेपछि उनको जीवन नेपाल तिर मोडिएको रहेछ।
काठमाडौं पुगेपछि बजार भन्नु नै न्यूरोड वरिपरिको क्षेत्र मात्र थियो। त्यहाँ उनले आफैसँग पाइलट ट्रेनिङ गरेका त्रिलोचन सिंह दुलटलाई भेटे।
उनीसँगै अर्का एक पाइलट थिए। पञ्जाबका यी दुई पाइलटले राजा महेन्द्रको डाकोटा विमान उडाउने गर्थे।
दरबार नजिकका साथी भेटेपछि प्रितमको नेपाल बसाई झनै सहज भये। राजा महेन्द्रसँग पनि भेट भयो।
महेन्द्र मान्छे चिन्न माहिर भएर पनि होला त्यति बेला महेन्द्र जम्बुको अमरनाथ जात्रामा सहभागी हुन जाँदै थिए। दोस्रो भेटमै राजा महेन्द्रले सिंह परिवारसँग प्रस्ताव गरे, ‘नेपालमा पनि यातायात सेवा शुरू गर्नुहोस्।’
अमरनाथको यात्रापछि राजा महेन्द्रले सिंह परिवारका बारेमा राम्रै जानकारी पाए। जम्बु काश्मिरका मानिस वफादार हुन्छन् भन्ने बुझाइ उनलाई जीवनको अन्त्यसम्मै रहेको प्रितम भन्छन्।
राजा महेन्द्रले सिंह परिवारलाई गाडीको लाइसेन्स उपलब्ध गराउन निर्देशन दिए। उनलाई गाडी हाक्न दिइएको २०० नम्बरको प्रमाणपत्रमा लेखिएको थियो- टाँगा र बग्गीलाई साइड दिनू।
नेपालमा माल ढुवानी गर्दा र सडक बनाउँदा धेरै ड्राइभरले ज्यान गुमाउनु परेको प्रितमले सम्झिए। पछि ट्रक चलाउन अरू डराउन थालेपछि उनी आफैं ड्राइभरसँग बसेर यात्रा गर्थे।
प्रितम सिंहको पूर्व-पश्चिम महेन्द्र राजमार्ग बनाउनमा धेरै ठूलो देन छ। महेन्द्रको पालामा नाकाबन्दी लाग्दा दूर्गम जिल्ला जिल्लामा सामान ढुवानी समेत उनैले गरे।
पितम सिंहले यातायात विभागले गर्ने कामसमेत गर्थे। उनी सबै ड्राइभरका लाइसेन्समा आफैं हस्ताक्षर गरेर दिन्थे।
प्रितमले ट्रकसँगै बस पनि सञ्चालन गरे।
‘जब म पहिलो पटक बर्दिया गएँ। त्यहाँ बसमा मान्छे बस्नै डराउँथे’, प्रितमले हाँस्दै विगत सम्झिए, ‘बस छुन नै मान्छे डराउँथे। चढ्नु त परै जावोस्।’
त्यसपछि उनी बसबाट ओर्लिएर सबैलाई छुन लगाए। ‘यसले मान्छे खाँदैन, यसमा चढेर यात्रा गर्नुपर्छ,’ भनेर सम्झाएपछि मात्रै बर्दिया र धनगढीका मान्छे बस नजिक परेका थिए।
प्रितमले ६ सय ट्रक नेपाल ल्याइसकेका थिए। ती ट्रकहरूमा पछि काठमाडौंकै स्थानीय चालक नियुक्त गरे।
प्रितम सिंहको सम्बन्ध स्व राजा महेन्द्रदेखि प्रचण्डसम्म राम्रै छ। स्व प्रकाशले कान्छी श्रीमति बिनालाई भगाएको बेला तीन महिना दिल्लीमा उनैले आफ्नो अपार्टमेन्टमा राखेका थिए।
शान्ता शाह त झन प्रितमकै घर आगनमा खेलेर हुर्किएकी उनलाई निकै सम्झना छ।
लामो समय नेपालमा बसेका प्रितमलाई अहिले नेपाल जति प्यारो कही लाग्दैन।
४२ वर्षकै उमेरमा उनले जेठो छोरो महेन्द्र पाल सिंह गुमाए। १० वर्ष अघि छोराको पीडा खप्न नसकेपछि श्रीमतीले पनि छोरा बितेको ६ महिनामै ज्यान गुमाइन्।
महेन्द्रका दुई छोरा अंगद र अर्जुन छन्। अंगदले ललितपुरमा किन्डर गार्डेन खोलेका छन्। चोभारको मोर्डन इण्डियन स्कुल प्रितमलेनै स्थापना गरेका हुन्।
प्रितमले नेपाली नागरिकता नपाए पनि नातीहरूसँग जन्मसिद्ध अधिकारमा नेपाली नागरिकता छ। नातिहरू पनि हजुरबुवा जस्तै समाज सेवामा लागेका छन्।
सरदार प्रितमका ३ जना छोरीहरू निरू, मिनु, किरणदिप छन्। छोरीहरू सबैको विवाह भइसकेको छ।
प्रितमलाई नेपालमा शिख धर्म भित्र्याउने अर्थात संरक्षकका रूपमासमेत लिइन्छ। उनैको नेत्तृत्वमा नेपालमा धेरै स्थानमा गुरूद्वार पनि बनेका छन्।
भिडियोमा हेर्नुहोस्