सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आदेश आएको छ - शिल्पा पोखरेललाई पक्राउ नगर्नू।
यी शिल्पा सामान्य शिल्पा हैन, नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेल हुन्। निर्माता छवि ओझाकी चौथी श्रीमती शिल्पाले श्रीमान छबि ओझासँग छाेडपत्रको मुद्दा हालेपछि घटनाले रिलमा झै रियलमा पनि नाटकीय मोड लिएको थियो।
छबिको पहिलो पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्। यही उजुरीका आधारमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएसँगै प्रहरीले पक्राउ पूर्जी जारी गरिएको हो। छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्।
पक्राउ पूर्जी खारेज गर्न माग गर्दै उच्च अदालत पाटन पुगेकोमा अदालतले शिल्पाको पक्षमा निर्णय नगरेर जिल्ला अदालत काठमाडौंकै निर्णय सदर गरिदियो।
त्यस विरूद्ध सर्वाेच्च अदालत पुगेकी थिइन् शिल्पा। अन्तत: सर्वाेच्च अदालतकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू मातहतका दुई तहका अदालतले गरेको निर्णय उल्टाइदिदै शिल्पाको पक्षमा पासा पल्टाइदिए।
नेपालका 'नम्बर १ श्रीमान्' चोलेन्द्र शमशेरले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिँदा उनले दुबै पक्षलाई भदौ १५ गते अदालतमा झिकाउने आदेश पनि दिए।
कानुनी प्रतिनिधिमार्फत् मुद्दा लडिरहेकी शिल्पा भने पक्राउ पूर्जी जारी रहेकाले त्यसबाट बच्न बेपत्ता थिइन्।
चोलेन्द्र श्रीमानको कृपाले उनी अब बेपत्ता नभए पनि हुने भयो।