काठमाडौंको स्वयम्भु विजेश्वरीमा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ। लोप्चन भनिने मिलन लामा र अमृत तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि उनीहरूमाथि गोली हानिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालले स्पष्ट पारे।
मिलनलाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको ढकालले जानकारी दिए। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाई नियन्त्रणमा लिएको हो।
मिलन र अमृत काठमाडौंका विभिन्न क्षेत्रमा लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
घाइते भएका उनीहरूलाई प्रहरीले तत्कालै उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा लगेको छ।
एसपी ढकालका अनुसार रामेछापका मिलनलाई महाशाखाको टोली खोजी गरिरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाइ नियन्त्रणमा लिएको छ।
महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।