अविरल वर्षासँगै आएको बाढीले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारको जानकी टोल डुबानमा परेको छ।
बिहान करीब ३ बजेदेखि परेको मुसलधारे पानीले बजार क्षेत्र डुबानमा परेको हो।
नगरमा ढल निकास नहुँदा पानी स्थानीय बासिन्दाका घर भित्र पसेको हो। पानी घर भित्र पस्दा स्थानीयको अन्न, लत्ता कपडालगायत सामाग्रीहरू भिजेर नोक्सानी भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पानी पर्ने क्रम रोकिएपछि डुबान क्षेत्रको पानी घट्न थालेको छ।
बजार क्षेत्र भएर बग्ने नालाहरू मासेर अबैध रुपमा भौतिक संरचना निर्माण हुन थालेपछि बजार क्षेत्र डुबानमा परेको हो।
प्रहरीका अनुसार महेन्द्रनगर बजार क्षेत्र सँगै उल्टाखाम, खोल्टी, जिमुवा र भुजेला क्षेत्र, जानकीटोल र सालघारीको सुकुम्बासी बस्ती डुबानमा परेको छ।
यसैबीच भीमदत्त नगरपालिकाको डुबानमा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरिएको छ।