डोटी । डोटीको आदर्श गाउँपालिका ५ मा गए राति भरुवा बन्दुकको छर्राले लागेर एक किशोरको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय १८ वर्षीय तपेस लोहार रहेका छन्। गए राति ११ बजे जंगलको नजिकै रहेको खेतमा जनावर भगाउनको लागि स्थानीय ५० वर्षीय जंग भुलले एक नाले भरुवा बन्दुक पड्काएका थिए।
सोही बन्दुकको छर्राले लोहारलाई लागेको भुलले प्रहरी समक्ष बयान दिएका छन्। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।
डोटीकै बोग्तान गाउँपालिका ५ मा गए राति पौने १० बजे सडकबाट लडेर एक जनाको मृत्यु भएको छ। स्थानीय ५० वर्षीय गोरे बराल सुनार सडकबाट करिब १० मीटर तल खसेका थिए। बरालको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ।
यस्तै, अछामको साँफेबगर नगरपालिका ३ पैतरा डाँडामा पनि हिजो बेलुकी सवा ७ बजे लडेर एक पुरुषको मृत्यु भएको छ । चौरीपाटी गाउँपालिका ७ मार्कुका ५५ वर्षीय तुलै ढोलीको सडकबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।