वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्युको ग्राफ केही समययता उकालो चढिरहेको छ ।
वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्यांकअनुसार बितेका ११ महिनामा मात्र पाँच सय दुईजनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या मलेसियामा पाइएको छ । त्यहाँ यो अवधिमा दुई सय छजना कामदारले ज्यान गुमाएका छन् । त्यसपछि साउदी अरेबियामा एकसय ७७ र कतारमा एकसय १९ कामदारले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको छ ।
पछिल्ला तीन वर्षको तथ्यांकअनुसार वैदशिक रोजगारीमा ज्यान गुमाउने नेपालीको संख्या आर्थिक वर्ष २०७२–७३ मा ८ सय १६, आर्थिक वर्ष २०७३–७४ मा ७ सय ५६ र आर्थिक वर्ष २०७४–७५ मा ८ सय २१ रहेको पाइन्छ । यो अर्थिक वर्षको ११ महिनामै पाँच सय दुईजनाले ज्यान गुमाइरहेका छन् भने अन्तिम एक महिनामा कतिले ज्यान गुमाउने हुन् त्यसको आँकलन अहिले नै गर्न सकिने अवस्था छैन । तर, विगतको तय्यांकलाई केलाउँदा असार महिनामै धेरै नेपाली कामदारको मृत्यु भएको पाइन्छ ।
मृतकको यो संख्या श्रमको सिलसिलामा मात्र मर्नेहरूको हो । यस अतिरिक्त झैझगडामा मर्ने, मार्नेहरूको संख्या पनिपछिल्लो समयमा केही बढेकै देखिन्छ । जेल पर्नेहरूको संख्या पनि पछिल्लो समय बढिरहेकै छ ।
वैदेशिक राेजगारीमा जानेहरूको मृत्युसंख्या बढिरहेको मुल कारण जोखिमयुक्त काम गर्नुपर्ने बाध्यता र त्यसअनुसारको सावधानी अपनाउन प्रशिक्षणको अभाव नै हो भनिन्छ । यद्यपि यसका बारेमा अध्ययन अनुसन्धान भने अझै पनि सुरू भएको छैन ।
साहुको ऋण काढेर परिवारका इच्छा आकांषा र आफ्ना सपनाहरू पूरा गर्न गएको मान्छेको निधन हुनु भनेको एउटा व्यक्तिको मृत्यु मात्र नभएर सिंगो परिवारको सपना चकनाचुर हुनु पनि हो । तर, यो विडम्बनाबाट कसरी मुक्ति पाउँने हो त्यसको खोजी भने अझै हुन सकेको छैन ।