भक्तपुरमा व्यावसायिक कालिज पालन सुरू

तस्बिरः बिएल

कालिज, यो नाम सुन्दै तपाईंलाई गाँउ घरको जंगलमा पाइने एउटा पंक्षीको याद आउँछ।  तपाईले कालिज नेपालको धेरै जंगलहरुमा देख्नु पनि भएको होला। तर सरकारले ल्याएको नयाँ कानुनसँगै शहर बजारमा समेत यसको ब्यवसायिक उत्पादन गर्न थालिएको छ।

हो कालिजको ब्यवासायिक उत्पादन भक्तपुरको सिपाडोलमा जिल्लामै पहिलो पटक शुरु गरिएको छ। सूर्यबिनायक नगरपालिका–८ सिपाडोलमा कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरले पहिलो पटक सरकारबाट स्वीकृति लिएर कालिजको व्यावसायिक पालन शुरु गरेको हो।

११ वर्ष कतारमा रोजगारीको सिलसिलामा बसेर आएका सेन्टरका सञ्चालक तथा प्रोपाइटर आशिष उपाध्यायले शुरुमा होटल व्यवसाय गरेता पनि हाल आएर पिताका सल्लाह र अन्य दुई साथिको सहकार्यमा कालिज उत्पादन गर्न थालेको बताए ।

उनले हाललाई ३०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए। यूरोपबाट ल्याएका ४ हजार अण्डा ल्याई ह्याचारीमा उत्पादन गर्न दिइएको र चल्ला उत्पादनपछि यहाँ ४ हजार भन्दा बढी हुने उनले जानकारी दिए।

८ रोपनी जग्गा भाडा र २ रोपनी जग्गा आफ्नै गरी १० रोपनी क्षेत्रफलको जग्गामा हाल करीब १५ लाख लगानीमा कालिजपालन व्यवसाय शुरु गरिएको उक्त कालिज उत्पादन जेठदेखि शुरु गरिएको कालिज मंसिरमा खानयोग्य हुने जानकारी दिए। करीब ६ महीना पालेपछि मात्र कालिज खानलाई योग्य हुने समेत उनले जानकारी दिए ।

एक दिने चल्लालाई प्रति गोटा २ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको कालिज बजारसम्म पुग्दा ३ हजार ५ सय देखि ४ हजारसम्ममा बिक्री गर्न सकिने आशिषले जानकारी दिए।

भक्तपुरमा पनि यसको व्यावसायिक व्यवसाय गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको आशिषले बताए। कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन। दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ।

यो नयाँ व्यावसायिक व्यवसाय सञ्चालनले नयाँ किसानहरुको लागि उत्प्रेरक भूमिका खेल्नेछ।

प्रकाशित मिति: : 2019-08-09 17:05:11

प्रतिकृया दिनुहोस्