उपनिर्वाचनका लागि नेकपा र जनमोर्चाबीच गठबन्धन

फाइल तस्बिर

उपनिर्वाचनमा वाग्लुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनमा वाग्लुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । उनको निधन भएका कारण गण्डकी प्रदेशसभा सिटमा उपनिर्वाचन हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा दुवै पार्टीका नेताबीच भएको छलफलमा चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।लिखित सहमति नभएपनि मौखिक रुपमा यसअघिको चुनावमा जुन पार्टीले जहाँ जितेको थियो, त्यही सिटमा समर्थन गर्ने गरी गठबन्धन गर्ने सहमति भएको राजमोका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

छलफलमा दुवै पार्टीका अध्यक्ष ओली र केसीसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी लगायत नेता सहभागी थिए ।

प्रकाशित मिति: : 2019-10-23 15:24:53

प्रतिकृया दिनुहोस्