एसीड आक्रमणबाट जोगिएकी उप–मेयर खातुन

तस्बिरः बिएल नेपाली सेवा

पर्साको पोखरीया नगरपालिकाकी उप–मेयर सलमा खातुन १० वर्ष अगाडि आफैं एसिड आक्रमणबाट जोगिएको बताएकी छन्।

मुस्कानका अभिभावकलाई भेटेर सान्तवना दिँदै उनले आफ्नो विगतको तितो अनुभव पोखेकी हुन्। उनको विगतको त्यो डर अझैसम्म पनि उनको मानसपटलमा ताजै छ।

लामो समयसम्म पत्रकारिता पेशामा आवद्ध रहेर राजनीतिमा होमिएकी उनी स्थानीय तहको निर्वाचनबाट उप–मेयरमा निर्वाचित भएकी हुन्।

‘अपराधिले मलाई भेट्न बोलाए पछि प्रहरीको संरक्षणमा उसलाई भेट्न म काठमाडौको गौशालामा उसलाई भेट्न पुगेकी थिएँ’, उनले भनिन्, ‘जब प्रहरीले दोषिलाई समात्यो त्यसपछि उसको शरीरबाट तेजाबको बोतल खस्यो। त्यो हेरेर म झसङ्ग भएँ। त्यो दिनको डर आज पनि मेरो मन मस्तिस्कमा छ।’

२०६५ सालमा घटेको त्यो घटना आफ्नो जीवनको एकदम पीडादायक पल भएको र आफूले त्यो घटना सम्झन पनि नचाहेको उनले बताईन्।

‘घटनास्थलमा प्रहरीले आउन ढिलाई गरेको भए, म पनि मुस्कान जस्तै शारीरिक घाउ भोग्नु पर्थ्यो,’ उनले भनिन्।

२०६३ सालमा वीरगन्जको स्थानीय रेडियोबाट पत्रकारीता सुरू गरेकी सलमा खातुन नेपाल तथा छिमेकी देश भारतको बिहारसम्म सुन्ने श्रोताको बिचमा लोकप्रिय कार्यक्रम प्रस्तोता थिईन्।

मुस्लिम समुदायबाट आएकी खातुन स्थानीय रेडियोको लागि एक उदहारणीय पात्र थिईन्। उनको भोजपुरी प्रस्तुतिको कार्यक्रम श्रोताहरूले खुबै रूचाएका थिए।

उनको समाचार पढ्ने शैलीको पनि निकै प्रशंसा हुने गर्थ्यो। जसकारण भारत बिहार तथा पर्सा, बारा, रौतहट, सर्लाहीलगायत थुप्रै जिल्लाका श्रोताहरू उनको मधुर आवाजको सँगै तानिएर रेडियो स्टेशससम्म उनलाई भेट्न आईपुग्थे।

सञ्चारकर्मी भएकाले विभिन्न कार्यक्रम तथा बैठकमा खातुनलाई जानुपर्ने हुन्थ्यो।

सोही क्रममा उनलाई एक जना पुरूषले मन पराउन थाले। रेडियोको माईकमा धेरै बोल्ने खातुन वास्तवमा कम बोल्ने स्वभावकी थिईन्। कार्यक्रममा जाँदा अरू साथीभाइसँग बोले पनि उक्त पुरूषसँग उनी बोल्दिनँ थिईन्।

अहमको भावना बोकेको सो पुरूषले एकदिन खातुनलाई प्रेम प्रस्ताव राख्यो। तर, उनले उक्त प्रस्ताव सिधै अस्वीकार गरिन्। तर पनि ती पुरूषले खातुनको पिछा छोडेनन्। खातुनले यसबारेमा अफिसका सर तथा साथीहरूमा कुरा सेयर गरिन्।

केही समय वीरगन्जमा त्यो पुरूषको तनाव बिच काम गरेकी उनलाई २०६५ सालमा काठमाडौंमा रहेको नेपाल वान च्यानलमा मधेसी समुदायकी महिला भएर काम गर्ने अवसर मिल्यो।

उनले त्यो बेला नेपाल वान टेलिभिजनमा भोजपुरी भाषाको कार्यक्रम चलाउन थालिन्। यसबाहेक राजनीतिक तथा सामाजिक विषयमासमेत रिपोर्टिङ्ग गर्न थालिन्।

त्यसपछि काठमाडौंमै बसेर आफ्नो पढाईलाई उनले निरन्तरता दिन थालिन्। वीरगन्जको घटनालाई लिएर राजधानीमा उनी ढुक्कले काम गर्न थालिन्।

तर, केही समयपछि ती पुरूष खातुनलाई पछ्याउँदै काठमाडौंसम्म पुगे।

टेलिभिजनमा काम गर्ने भएकाले सलमाको हरेक गतिविधि उसले सहजै पत्ता लगायो।

तिनकुनेस्थित टेलिभिजन कार्यालय अगाडि आएर उसले ‘नाई किन भन्यौं’ भन्दै दुःख दिन थाल्यो।

कोठाबाट अफिसको गाडीमा आउँदा/ जाँदा पनि त्यो केटाले नहेरोस् भनेर पछिल्लो सिटमा बसेर लुकेर आउनु परेको दुःखेसो सलमाले सुनाईन्।

मोबाईलमा फोन गरेरसमेत हैरान गर्न थालेपछि खातुनले अफिसको सहयोगमा हनुमानढोका प्रहरीलाई खबर गरिन्।

यसरी प्रहरीकै योजनामा उक्त केटालाई पक्राउन उनी उसले भेट्न बोलाएको ठाउँ गौशालामा पुगेकी थिइन्।

एक्लै भेट्न आएको देखेर उक्त पुरुषले खातुनसँग कुरा गर्न अगाडि बढ्यो। सोही क्रममा प्रहरीले दोषिलाई समात्दा उसको शरीरबाट तेजाबको बोतल खसेको थियो। ‘त्यो दिन प्रहरी आउन थारै पनि ढिलाई गरेको भए आज मुस्कान जस्तै पीडा मैले पनि सहनु पर्थ्यो,’ उनले भनिन्।

दोषिमाथि सार्वजनिक मुद्दा चलाईएको प्रहरीले खासै कडा कारबाही गरेन।

२७ दिनमै उनी थुनाबाट निस्किए। खातुनले यस विषयमा प्रहरीसँग बुझ्दा राजनीतिक दवाबमा छुटेको जवाफ आयो।

यसरी दोषिमाथि कडा कानुनी कारबाही नहुँदा खातुन उदास भईन् र अब के गर्छ भन्ने डरमा थिईन्। तर, सोही बेला उनले बंगलादेशमा छात्रवृति पाएर अध्ययन गर्न ढाका गइन्। त्यसपछि दोषिको दुर्वव्यवहार देखि डराएकी खातुन आफूमाथि फेरि कुनै घटना हुन्छ कि भनेरै नेपाल बस्न चाहिनन्।

बंगलादेश बसाई पछि नेपाल फर्किए लगत्तै उनले विवाह गरिन्।

स्थानीय रेडियोमा काम गर्दै पत्रकारितामा होमिएकी उनी निर्वाचन पछि विगत २ वर्ष देखी पोखरीयाकी उप–मेयरको पदमा कार्यरत छिन्।

‘त्यो घटनाको डर मनमा बसे पनि आज मलाई मलाई सोहि डरले बलियो बनाएको छ। मैले त्यो समय यति धरै मानसिक तनाव सहेँ कि आज मलाई कुनै समस्याले हलाउन सक्दैन’, उप–मेयर खातुनले भनिन्,‘म साहसी महिला भएर आफ्नो जीवनमा अगाडि बढ्दैछु।’

उपमेयर खातुनका अनुसार कोही अपराधिक सोच भएका पुरूषको मनमा रिस भए उसको पहिलो ध्यान महिलाको सौन्दर्यता मै जान्छ।

महिला यदि कुरूप भए उसको आत्मबल कमजोर हुन्छ जसकारण त्यस्ता सोच भएका पुरुष महिलाको सौन्दर्यता बिगार्न लाग्छन्। साथै कामकाजी महिलाको आत्मबल र उनको हौसला कमजोर भएपछि दोषीहरू आपराधिहरू त्यसमा आफ्नो जीत महशुस गर्ने उनले बताइन्।

आफ्नो विगतका मानसिक पीडा सम्झदै उपप्रमुख सलमा खातुनले एसिड पीडित मुस्कानको उपचारका लागि पोखरीया नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिइन्।
दोषिलाई कडा सजाय दिलाउन आफूले स्थानीय सरकारलाईसमेत जगाउने बचन मुस्कानका अभिभावकलाई दिइन्।

मुस्कानको उपचारका लागि सहयोग जुटाउन खातुनले व्यक्तिगत रुपमा १० हजार रूपैया सहयोग गर्दै पोखरीया नगरपालिकाको बोर्ड बैठक गराएर पीडित मुस्कानको उपचारको लागि आफ्नो पालिकाबाट मेयरको सहकार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

साथै पर्साको १४ वटै स्थानीय तहका उपमेयरको गठनमा सञ्चालित डेपुटि मेयरर्स क्लबको संयोजकको नाताले सम्पूर्ण पालिकाको उपमेयरको बैठक गरी हरेक सक्दो सहयोग उपलब्ध गराउने र न्यायको लागि आवाज उठाउने बताइन्।

उनको भोगाई र पीडा सुन्दै सँगै मुस्कानका बुवा रसुल सँगै गएका समाजिक अभियन्ता उज्जवल थापाले एसिडको घटना बढ्दै जानु दुःखद् भएको र तराईको जिल्लामा झनै जोखिम रहेकाले समयमै दोषिलाई कडाभन्दा कडा सजाय नभए अपराधिक मनोबल बढ्ने बताए।

यो घटना मुस्कानको मात्र नभई जो कोही महिलामाथि हुनसक्ने भएकाले चिन्ताको बिषय भएका बताए।

सबै पालिका तथा पदाधिकारीहरू एक भएर दोषि बालिग हो कि नाबालिग त्यस प्रति न्यायको छानबिनमा सहयोग गर्न उपमेयरहरुको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए।

पीडित मुस्कानका बुवाले भने मुस्कानलाई न्याय दिलाउने काम सम्पूर्णको जिम्मेवारी भएकाले सबैको साथ र सहयोगको आवस्यक्ता रहेको बताए। आफ्नी छोरी साहसी भएकीले पीडितको उपचारमा सहयोग गरीदिन अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2019-10-22 17:51:52

प्रतिकृया दिनुहोस्