बलात्कारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई आज पुनः म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने भएको छ। यसअघि तीन दिनको म्याद थप्ने अनुमति पाएको प्रहरीले म्याद सकिएपछि पुनः म्याद थपका लागि महरालाई आइतबार अदालत लाने भएको हो।
यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो।
थुनामा रहेका महरालाई दिउँसो अदालत लैजाने तयारी रहेको प्रहरी स्रोतले जानकारी दियो।
असोज १८ गते पीडित भनिएकी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो।
प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महरालाई स्वास्थ्यमा समस्यादेखिएपछि केही दिनदेखि नर्भिक अस्पतालमा छन्।
उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले बलात्कारको आरोप लगाएकी थिइन्।
महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो। आफूमाथिको आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए।