म्यान्मारको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी जापान भ्रमणमा निस्किएकी छन्। म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको पाँचदिने राजकीय भ्रमण पूरा गरेकी भण्डारी आजै जापान प्रस्तान गरेकी हुन्।
उनी गत असोज २९ गते म्यानमार पुगेकी थिइन्। उनले आजदेखि यही कात्तिक ५ गतेसम्म जापानको भ्रमण गर्दैछिन्।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो।
राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरेका थिए। राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम (रत्न पत्थर आदि सङ्ग्रहालय) को अवलोकन गरेको थियो।
त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि गरेका थिए।
यङ्गोनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गरेको थियो। जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने भएको छ।
श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरेकी थिइन्।
राष्ट्रपतिको नेपाली मूलका बर्मेलीसँग भेटघाट हुनाका साथै म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मार नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ।
नेपालका लागि म्यान्मारका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका थिए।
राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।