मतदानलगायत विभिन्न प्रक्रियामा अनियमितता भएको आचार्यको आरोप

बिएल

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पराजित उम्मेदवार कुल आचार्यले मतदानलगायत विभिन्न प्रक्रियामा अनियमितता भएको दाबी गरेका छन् ।

चुनावी परिणाम सार्वजनिक भएपछि जारी गरेको विज्ञप्तिमा आचार्यले अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गरेर धेरै फर्जी मतदाताहरु तयार गरिएको आरोप लगाए ।

आचार्यले भनेका छन्, ‘चुनाव सम्पन्न भइसकेपछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन । विना मुचुल्का मतगणना शुरु गरियो । नेपाल फर्कीसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो ।’

यसअघिका उपाध्यक्ष रहेका आचार्यले सबै कामहरु रातरात अनियमित रुपले अगाडी बढाइएको जान्दाजान्दै संस्थाको बृहत् हितलाई ध्यानमा राखेर आफूले संयम अपनाएको बताए ।

‘यी सबै अनियमतिताहरुलाई सहँदै, मेरो छाती ठूलो बनाउँदै , विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितकालागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु,’ आचार्यले भनेका छन् ।

प्रकाशित मिति: : 2019-10-18 16:23:52

प्रतिकृया दिनुहोस्