एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

एनआरएनका नयाँ अध्यक्ष कुमार पन्त ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो। पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई हराएका हुन्। निकै प्रतिस्पर्धा भए पनि पन्तले अन्तिममा बाजी मारे ।

पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन । यसैगरी कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । सचिवमा पनि पन्त समूहकै गौरीराज जोशी निर्वाचित भए ।सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

अमेरिका क्षेत्रीय संयोजकमा १५४ मत ल्याउँदै राजन त्रिपाठी निर्वाचित भएका छन् भने उपसंयोजकमा १५० मत ल्याउँदै रामसी पोखरेल विजयी भए। महिला उपसंयोजकमा गोमा कार्की थापा १४४ मत ल्याउँदै निर्वाचित भएकी छिन्।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए। 

जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए। अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।

मध्यपूर्वका गैरआवासीय नेपालीहरुलाई मिलाउन नसक्दा आचार्य हारेको विश्लेषण गरिएको छ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४४ मत खसेको थियो । 

थप निर्वाचन परिणाम भने केहिबेरमा सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति: : 2019-10-18 10:32:04

प्रतिकृया दिनुहोस्