विद्युतीय मेसिन बिग्रेपछि मतपत्रबाट एनआरएनए चुनाव हुँदै

मतदानका लागि लामबद्ध ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतपेटिका प्रयोग हुने भएको छ। सफ्टवेयरमा समस्या आएपछि बुधबार हुने भनिएको गैर-आवासिय नेपालीहरूको संगठनको नयाँ नेतृत्वको चुनाव कागजी मतपत्रबाट हुने भएको छ।

भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिनमध्ये २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान हुने जानकारी दिएको छ। ‘प्रविधिमा आएको समस्याको कारण बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको' निर्वाचन समितिले  बुधबार बेलुकी सूचना निकालेर जानकारी दिएको थियो। आज १० बजेबाट मतदान सुरु हुने भने पनि अझै केहि समय लाग्ने निर्वाचन समितिले जनाएको छ।

बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर, प्राविधिक समस्या आएको बेलुकी रोकिएको थियो ।

नेपालमा रहेका करिब २०० जनालाई मतदानको अधिकार दिइएको भए पनि धाँधली हुने भन्दै विरोध भएपछि उनीहरुलाई मतदाता सूचीबाट हटाइएको छ। त्यसैगरी अब निष्पक्ष मतदानका लागि पासपोर्ट, भिसा र मतदाताको फ्रिगंर प्रिन्ट अनिवार्य राखिएको छ।

को-को छन् प्रतिस्पर्धामा

अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दिएका छन्।

आचार्य र पन्तले नेतृत्व गरेका दुई टीमबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्षमा उम्मेदवारी दिएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट छन् भने पन्त प्रगतिशिल समूहसँग आवद्ध छन्।

वर्तमान अध्यक्ष भवन भट्ट र पूर्वअध्यक्ष शेष घलेले आचार्यलाई सघाउने भएका छन् भने पूर्वअध्यक्ष जीवा लामिछानेले पन्तलाई सघाएका छन्।

एनआरएनएमा दलीय हस्तक्षेप भएको भन्दै उपेन्द्र महतो सम्मेलनबाट बाहिरिएका छन्। उनी तटस्थ बसेका छन्।

मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सय देखि दुई हजार प्रतिनिधि सहभागी छन्।

अध्यक्ष, पाँचजना उपाध्यक्ष, महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।

प्रकाशित मिति: : 2019-10-17 10:41:40

प्रतिकृया दिनुहोस्