मेयरबाटै सवारी साधनको व्यापक दुरूपयोग, व्यक्तिगत कामका लागि नगरपालिकाको डोजर र गाडी

तस्बिरः बिएल नेपाली सेवा

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले नगरपालिकाको सवारी साधन व्यापक दुरूपयोग गरेका छन्।

नेपाली काङ्ग्रेसका निर्वाचित मेयर साहले नगरपालिकाको सवारी साधनको प्रयोग गरी वीरगन्ज ११ तेजारथ टोलस्थित छाला उद्योगको जग्गा खरिद गरी पार्टी प्यालेस बनाइरहेका छन्।

मेयरले आफनो निजी काममा विगत एक महिनादेखि नगरपालिकाको सरकारी डोजर, एक्साभेटर प्रयोग गरेको नगरवासीले गुनासो गरेका छन्।

स्थानीयका अनुसार मेयर साह र उपमेयर गायत्री यादवले विदाको दिनमा पनि आफ्नो निजी कामका लागि नगरपालिकाको स्वामित्वमा रहेको तीन वटा सवारी साधन प्रयोग गर्दै आएका छन्।

मेयर नितेन्द्रले नगरपालिकाको स्कार्पियो गाडी र उपमेयर यादवले पिकअप भ्यान सार्वजनिक विदाको दिनमा आफ्ना आफन्तलाई लिन जाने र पुर्‍याउन तथा घुमफिरमा प्रयोग गर्दै आएका छन्।

उनीहरूले नगरपालिकाकै ईन्धन खर्च गरी लाखौं रुपैया दुरूपयोग गरेको आरोप स्थानीयको छ।

जग्गा कारोबारीको रूपमा चर्चामा रहेका नगरप्रमुख साहले कार्यालयमा भन्दा जग्गाकै किनबेचमा समय दिने गरेको र सरकारी स्रोत साधन व्यक्तिगत लाभमा प्रयोग गर्न थालेपछि स्थानीय आक्रोशित भएका छन्।

नगरपालिकाका एक सदस्यले बहुदरमाई नगरपालिकाको बोर्ड बैठक मेयर साहको नेतृत्वमा नगरपालिकाको कार्यालयमा नबसी वीरगन्जकै छाला उद्योगको एउटा कोठामा बस्दै आएको गुनासो गरे।

'मेयर साह प्राय कार्यालयमा देखिनुहुन्न, नगरपालिकाका महत्वपूर्ण बैठक र भेलासमेत बाहिरै गर्दै आउनु भएको छ', ती कर्मचारीले भने, 'कार्यालयमा नबसी नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम पनि वीरगंजबाटै सञ्चालन भइरहेको छ।'

बहुदरमाई नगरपालिकाले गत आर्थिक वर्षमा मात्र ३५ लाख भन्दा बढीको इन्धन खर्चको बिलको भुक्तानी गरेको छ।

जनताको करबाट सरकारले पठाएको बजेटमा मेयर सहितको टोलीले लुट मच्चाउन थालेपछि स्थानीय उजुरी लिएर अख्तियारमा समेत पुगेका छन्।

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश महर्जनले आफू दशैं मनाउन काठमाडौं आएकोले डोजर/ऐक्साभेटर कुन प्रकृयाले मेयर साहेबले वीरगंज लगेर काममा खटाउनु भएको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए।

उनले वीरगन्ज आएपछि त्यस बारेमा बुझने बताउँदै प्रमुख प्रशासकीय अधिकृत महर्जनले मेयर/ उपमेयरले विदाको दिन सरकारी गाडी दुरुपयोग गरेको विषयमा आफूले बोल्न नमिल्ने बताए।

प्रकाशित मिति: : 2019-10-16 13:26:04

प्रतिकृया दिनुहोस्