प्रधानमन्त्री ओलीको दुखेसोः पत्रकारले बाउलाई पनि तपाइ भन्दैनन् (भिडियोसहित)

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाएका छन् । पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले विकसित देशको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सँदै गएको बताए ।

उनले भने, ‘सभ्यताका पर्खालहरु बाग्मतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाइ भन्दैनन् । तिमीभन्दा माथि उठेर । यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ लोभ लागेर, अर्काको एउटा ‘यू’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्यो ।सानालाई तिमी भन्ने ठूलालाई तपाईँ भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ ।’

सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ ।

सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो ।

प्रकाशित मिति: : 2019-10-15 14:40:22

प्रतिकृया दिनुहोस्