विमानस्थल तोडफोड गर्ने राजपा सांसद पक्राउ

तस्बिरः बिएल

जनकपुर विमानस्थलमा तोडफोडमा उत्रिएका प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साह पक्राउ परेका छन्। सोमबार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर र भिआईपी कक्षमा तोडफोड गरेका थिए।

साहले विमानस्थलमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुसामा उजुरी दर्ता गराएको थियो।

विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीलाई अदालतले पक्राउको लागि अनुमति दिएको थियो।

सांसद शाहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

शाह ओखलढुंगाको रूम्जाटार जान लागेका थिए।

महानगरीय अपराध महाशाखाको टोलीले सांसद शाहलाई पक्राउ गरेको हो।

पक्राउ परेका सांसद शाहलाई आवश्यक कारबाहीका लागि जनकपुर पठाउने प्रहरीले जनाएको छ।

सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता भएको थियो।

बुद्ध एअरका अनुसार प्राविधिक कारणले विमान विमान ढिलाइ भएको र त्यसबारेमा यात्रुहरुलाई जानकारी गराउँदा पनि सांसद साहले काउण्टर तोडफोड र कर्मचारीसँग दुर्व्यवहार गरेका हुन्।

बुद्ध एअरको त्यही उडानमा काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एअरका कर्मचारी र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए। त्यही क्रममा सांसद साह र व्यवस्थापक प्रमुखबीच हातपातसमेत भएको थियो। तर, धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलकाे पहलमा सांसद साह विमानमा बसेर काठमाडौं आएका थिए।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साहले प्रशासनको लापरबाहीका कारण आफू आक्रोशित भएको सांसद साहले स्वीकार गरेका छन्।

प्रकाशित मिति: : 2019-10-15 13:29:11

प्रतिकृया दिनुहोस्