पुनर्निर्माणमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्च : हिसाब नै छैन साढे २८ अर्बको

तस्बिरः नयाँ पत्रिका

आइएनजिओले पुनर्निर्माणमा खर्च गर्छु भनेको २८ अर्ब ६६ करोडको सरकारसँग व्यवस्थित हिसाबै छैन

१२ वैशाख ०७२ को भूकम्पमा ढलेका निजी र सार्वजनिक संरचना उठाउन सहयोगको हात दिएका विदेशी साझेदार संस्थाले साढे २८ अर्ब रुपैयाँ गैरकानुनी ढंगले खर्च गरेका छन् । त्यसको न लेखापरीक्षण भएको छ, न सरकारसँग व्यवस्थित तथ्यांक छ । भूकम्पपछि अन्तर्राष्ट्रिय गैरसरकारी तथा साझेदार संस्थाले ७० अर्ब ८० करोड ९१ लाख खर्च गरेका छन् । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकमा हालसम्म ४२ अर्ब १४ करोड २८ लाख मात्रै वैदेशिक खर्च भएको उल्लेख छ । बाँकी २८ अर्ब ६६ करोड ६२ लाखको अडिट रिपोर्ट सरकारको कुनै पनि निकायमा पेस भएको छैन । आफूले खर्च गर्ने क्षेत्रबारे अर्थ मन्त्रालयलाई बोधार्थ जानकारी मात्रै गराएका दातृ संस्थाहरूले मनपरी ढंगले खर्च गरे, तर लेखापरीक्षण गरेनन् ।

यद्यपि, महालेखा परीक्षकको कार्यालयले भने पुनर्निर्माणमा खर्च भएको ७० अर्ब ८० करोड ९१ लाख नै लेखापरीक्षण नभएको जनाएको छ । ‘प्राधिकरण र अन्तर्गतका निकायमा नेपाल सरकारको वार्षिक कार्यक्रम तथा बजेटमा समावेश नगरी साझेदार संस्थाहरूले सोझै भुक्तानीबाट ७० अर्ब ८० करोड ९१ लाख दुई हजार रुपैयाँ खर्च गरेका छन् । सहायता रकम नेपाल सरकारको केन्द्रीय लेखा प्रणालीमा समावेश नगरेको तथा सोको आर्थिक विवरणसमेत पेस नगरेकाले लेखापरीक्षण भएको छैन,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ । खर्च भएको रकमको लेखापरीक्षण नै नहुनु आर्थिक अनियमितता भएको महालेखाको ठहर छ ।

प्रकाशित मिति: : 2019-10-01 07:21:45

प्रतिकृया दिनुहोस्