चार वर्षपछि पनि मुद्दा जहाँको तहीं

तस्बिरः नेपाल न्यूज

नेपाल-चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज काठमाडौंमा हुँदैछ। बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका छन्।

आजको बैठकमा नेपाल-चीन सम्बन्धका सबै पक्ष, भएका सम्झौताहरूको कार्यान्वयन, चिनियाँ राष्ट्रपति सि जिन्पीङको निकट भविष्यमा हुने भनिएको नेपाल भ्रमण, बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत नेपालले पाउने सहायताको विषयमा संक्षेपमा छलफल हुने जनाइएको छ।

‘खासगरी हामीले चीनसँग गम्भिर भएर सहायता र विकासको मुद्दामा कुरा नै गर्न सकेका छैनौं,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले नेपालन्युजसँग भन्यो, ‘चीनसँग जुन तहमा गएर हामीले वार्ता गर्नुपर्ने हो त्यो तयारी पुगेको छैन।’

चिनियाँ विदेश मन्त्री वाङ यसअघि सन् २०१४ डिसेम्बरको अन्तिम साता नेपाल आएका थिए। उनी त्यतिबेला सिको पहिलो कार्यकालमा नेपाल भ्रमणमा आएका थिए। करिब ५ वर्ष अघि वाङ नेपाल आउँदा भएको नेपाल-चीन परराष्ट्रमन्त्री स्तरीय बैठकमा नेपाललाई सहयोग गर्ने ९ वटा क्षेत्र चीनले निर्धारण गरेको थियो।

सन् २०१४ मा चीनले नेपाललाई सहयोग गर्न निर्धारण गरेका ९ क्षेत्र थिए- व्यापार, लगानी, कृषी, पूर्वाधार विकास, विज्ञान तथा प्रविधि, कनेक्टेभिटि, पर्यटन, सुरक्षा तथा कानून कार्यन्वयन र सांस्कृतिक आदानप्रदान। पछि चीनले चिनियाँ राष्ट्रपति सिको महत्वकांक्षी परियोजना बिआरआई अन्तर्गत ती ९ क्षेत्रमा सहयोग गर्ने जनायो।

‘हामीले अहिलेसम्म ती ९ वटा क्षेत्रमा एक/एक आयोजना बनाएर पनि चीनलाई बुझाउन सकेका छैनौं। सोमबारको बैठकमा बल्ल हामी ९ आयोजना प्रस्तुत गर्दैछौं। त्यो पनि चीनले स्वीकार्छ भन्ने छैन,’ परराष्ट्र उच्च स्रोतले भन्यो।

सोमबार हुने बैठकमा नेपालले रसुवागढी-काठमाडौं सडका, किमाथाङ्का-हिले सडक, दिपायल-दक्षिण चीन जोड्ने सडक, टोखा- बिदुर (नुवाकोट) सडक, गल्छी-रसुवागढी-केरुङ विद्युत प्रसारण लाईन, काठमाडौं-केरुङ रेल, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट, फुकाट-कर्णाली हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट र मदन भण्डारी विश्वविद्यालय निर्माण सम्बन्धी आयोजनाहरु चिनियाँ प्रतिनिधिमण्डल समक्ष प्रस्तुत गर्ने जनाइएको छ।

‘हामी साधारण योजना बैठकमा लग्दै छौं। चिनियाँहरु विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को अपेक्षा गर्छन्। प्रायः बैठकहरुमा यस्तै हुन्छ। चीनको अपेक्षाअनुसारको प्रस्ताव लग्न नसक्दा सधै हामी मार खाँदै आएका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो।

प्रकाशित मिति: : 2019-09-09 07:42:17

प्रतिकृया दिनुहोस्