१७ भदौ, काठमाडौं । सामान्यतया सबै कुपोषणजन्य समस्याहरू उच्च शैक्षिक र आर्थिक स्तर भएका परिवारमा कम देखिने गर्दछन् । तर विभिन्न अध्ययनहरूका अनुसार केही विशेष समस्यामा यो नियम लागू हुँदैन ।
नेपाललगायतका चार देशहरूमा हालसालै गरिएको एक अध्ययनअनुसार ‘पारिवारिक स्तरमा कुपोषणको दोहोरो भार’ (डबल बर्डन अफ मल्न्युट्रिसन याट् हाउसहोल्ड लेभल) को उपस्थिति सामान्य नियमले व्याख्या गरेभन्दा ठीक विपरीत छ । अर्थात् : कुपोषणको दोहोरो भारबाट अशिक्षित र गरिबभन्दा शिक्षित र धनी परिवार बढी पीडित छन् । नेपाल, बंगलादेश, पाकिस्तान र म्यानमारमा गरिएको अध्ययनको निष्कर्ष यो छ कि कुपोषणको दोहोरो भारको उपस्थिति ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बलियो छ । भनिरहनु नपर्ला, सहरी क्षेत्र भनेको शिक्षित र धनीले बसोबासका लागि रोज्ने क्षेत्र हो । अझ एक कदम अगाडि बढेर यस अध्ययन प्रतिवेदनले नेपालमा आमाहरूले माध्यमिक शिक्षा प्राप्त गर्नुलाई ‘जोखिम’का रूपमा लिएको छ ।
‘दोहोरो भार’ अर्थात् आमाको तौल बढी, बच्चामा कुपोषण
तीन वर्षअगाडि सरकार र केही दातृ निकाय मिलेर गरेको राष्ट्रिय जनसांखिक स्वास्थ्य सर्वेक्षणका अनुसार कम शिक्षित आमाहरूबाट जन्मने बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मने बालबालिकामा, अन्य बालबालिकामा भन्दा पुड्कोपनको समस्या बढी देखिन्छ । सर्वेक्षणका अनुसार देशभरका ‘अशिक्षित’ आमाहरूबाट जन्मिएका पाँच वर्षमुनिका बालबालिकामध्ये ४६ प्रतिशतको उचाइ उनीहरूको उमेरका अनुपातमा कम थियो भने कम्तीमा एसएलसी पास गरेका आमाहरूले जन्माएका बच्चाहरूमा यो अनुपात २३ प्रतिशत मात्र थियो ।