पार्टीभित्र गुट-उपगुट बनाउनु अपराध हो : झलनाथ खनाल

२०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका झलनाथ खनालले २०३४ सालमा नेकपा माले स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरे। तत्कालीन मालेको शक्ति संघर्षले उनलाई उक्त पार्टीको नेतृत्वमा स्थापित गरायो। ३३ वर्षकै उमेरमा २०३९ मा उनी नेकपा मालेको महासचिव भए। २०४७ सालसम्म निरन्तर यही पदमा रहे। २०४७ मा नेकपा माक्र्सवादी र नेकपा माले एकीकृत भइ नेकपा एमाले बनेपछि उनी उक्त पार्टीको स्थायी समिति सदस्य रहँदै आए। २०६४ को संविधानसभा निर्वाचनमा पार्टीको हारपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएपछि उनले पुनः पार्टीमा महासचिवको जिम्मेवारी सम्हाले। २०६५ को बुटबल महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए र २०६७ माघ २३ गते प्रधानमन्त्री बन्न सफल भए।

२०७० मा काठमाडौंमा भएको पार्टीको नवौं महाधिवेशनपछि उनी पार्टीका वरिष्ठ नेताका रुपमा रहे। २०७५ जेठ ३ मा एमाले र माओवादीबीच एकता भएपछि नेता माधवकुमार नेपाललाई तेस्रो वरियतामा राखियो। यसमा उनले पार्टीसमक्ष असन्तुष्टि राखे। र, हालैमात्र पार्टीले पूर्व निर्णय सच्याएर उनलाई तेस्रो वरियतामा राखेको छ। प्रस्तुत छ पार्टी एकता, समसामयिक राजनीतिलगायतका विषयमा नेता खनालसँग नेपालन्युजका अशोक अधिकारीले गरेको अन्तर्वार्ताको सम्पादित अंश।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा वरियता विवाद टुंगियो। विभाग गठन भए। जिल्लाको नेतृत्व चयन भयो। अब चाहिँ एकता प्रक्रियाले गति लिएको हो?

निसन्देह नै। हामीले १५ महिनाअघि तत्कालीन एमाले र माओवादीबीच एकताको घोषणा गरेका थियौं। एकता घोषणापछि पार्टीका तल्लो तहका निकाय विघटन गर्‍यौं। यद्यपि, विघटन गर्नुहुने थिएन। विघटनपश्चात एकता प्रक्रिया कहिले अगाडि बढ्छ भन्ने जिज्ञासा र चिन्ता सिंगो पार्टी पंक्तिभित्र थियो। आमजनतामा पनि त्यो चिन्ता थियो। क्रमशः पछिल्लो समय पार्टीका निकाय एकीकरण गरेका छौं। केन्द्रीय कमिटी, प्रान्तीय कमिटी बने। जिल्ला कमिटी बने। तल्लो तहसम्म एकीकरण भयो। त्यसैगरी वर्गीय संगठन पनि एकीकरण गर्ने प्रक्रिया अघि बढ्यो। ३२ वटा विभाग अघि सारेका छौं। प्रमुख र उपप्रमुख तोकेका छौं। विभागका अरु सदस्य बनाउन बाँकी छ। राष्ट्रिय परिषद र राष्ट्रिय सल्लाहकार परिषद बनाउन बाँकी छ। त्यस्ता केही काम बाँकी छन्। तर, आधारभूत रुपले एकता भयो। अब पार्टीले गति लिन्छ।

प्रकाशित मिति: : 2019-08-30 20:30:14

प्रतिकृया दिनुहोस्