‘गणतन्त्र र संघीयतामा पूर्वराजा र विप्लवभन्दा सरकारबाटै खतरा’

काठमाडौं । “सरकार झुटमाथि झुटको खेती गरिरहेको छ तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउन सकिरहेका छैनौं,” शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालाले नेतृत्वमाथि नै प्रश्न गरे । 

सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतामाथि पूर्वराजा र विप्लव समूहबाट खतरा छ भनेको विषय पनि बैठकमा उठाए । “यिनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाटै खतरा छ भन्ने कुरा बुझ्न जरुरी छ,” कोइरालाले भने । 

कांग्रेस मुख्यालय सानेपामा केन्द्रीय समिति बैठक जारी छ । शुक्रबारको बैठकमा १७ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखे । पार्टीको आन्तरिक विषय र समसामयिक विषयमा नै उनीहरुले धारणा राखिरहेका छन् । सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोख्दै आएका केन्द्रीय सदस्य कोइरालाले सरकारले छरेको भ्रम चिर्न नसकेको, पार्टी राम्रोसँग चलाउन नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना गरे । 

जनताले सुशासनको अनुभूति गर्न नपाएको, सरकार आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारले असफल भएको भन्दै उनले यसप्रति पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।  पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरु र पार्टीबीचमा समन्वय नभएको भन्दै उनले समय सकिएका सबै भ्रातृ संगठनहरुको विधानअनुसार अधिवेशन गर्न माग गरे । 

प्रकाशित मिति: : 2019-08-30 20:08:17

प्रतिकृया दिनुहोस्