कोरियाली प्रायःद्वीप पछिल्ला करिब २२ महिनादेखि शान्त छ । सन् २०१७ को नोभेम्बरमा उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेपछि संसारभरि तरंग आएको थियो । अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध नराम्ररी बिग्रिएको थियो । त्यसबेला लाग्थ्यो कि अब उत्तर र दक्षिण कोरिया युद्धको संघारमा छन् र अमेरिकासहितका शक्ति राष्ट्रहरू यो युद्धमा सामेल हुने खतरा छ । तर, सन् २०१८ को जनवरी १ मा नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ–उनले दक्षिण कोरियासँग मिलेर जान चाहेको बताए ।
त्यसपछिका हालसम्मका दिनमा दुई कोरियाबीच मात्रै होइन अमेरिका र उत्तर कोरियाबीच पनि अनौठो हार्दिकता देखिँदै आएको छ । यसबीचमा दक्षिण र उत्तर कोरियाबीच पटक–पटक दुई पक्षीय वार्ता भए । शीतकालीन ओलम्पिकका केही खेलमा दुई कोरियाको संयुक्त टोली बनाएर खेलाइयो भने शीतकालीन ओलम्पिक र त्यसपछि पनि दुई देशबीच उच्चस्तरीय भ्रमणहरू आदान प्रदान भए ।
दर्जनपटक उच्च अधिकारीहरूबीच दुई कोरियाबीच लामो समयदेखि रहँदै आएको दुश्मनीपूर्ण सम्बन्ध सुमधुर बनाउनेदेखि सिंगो कोरियाली प्रायःद्वीपलाई एकीकरण गर्नेसम्मका कुराहरू बाहिर आए । गत वर्षको १२ जुनमा सिंगापुरमा र यस वर्षको २७ देखि २८ फेब्रअरीमा भियतनाममा गरी दुईपटक शिखर वार्ता भए । अघिल्लो महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर र दक्षिण कोरियाबीचको सीमा क्षेत्र पानमुनजोमको डीएमजेड भनिने गैरसैनिक क्षेत्रमा गएर उत्तर कोरियाली नेता किमसँग भेट गरेपछि यस क्षेत्रमा शान्तिको सम्भावना नजिकिएको तथा पुनः वातावरण सुधारिने अपेक्षा गरिएको थियो । तर, यतिबेला पुनः उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा खटपट उत्पन्न भएको देखिएको छ । खासगरी दक्षिण कोरियाले अमेरिकासँग संयुक्त सैनिक अभ्यास गरेपछि उत्तर कोरिया आक्रोशित बनेको छ । उसले पछिल्ला दुई साताको अवधिमा ६ पटक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
उत्तर कोरियाको पछिल्लो घोषाणा
दक्षिण कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरिया त्यसबाट रुष्ट बनेको छ । उत्तर कोरियाले यस क्षेत्रमा शान्ति कायम गर्न आवश्यक रहेको भन्दै सैन्य क्रियाकलाप नगर्न पटक–पटक आग्रह गरे पनि दुई देशले सैन्य अभ्यास रोक्न चाहेनन् । त्यसलगत्तै उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आगामी दिनमा दक्षिण कोरियासँग वार्ता नगर्ने घोषणा गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङयाङले दक्षिण कोरियाली राष्ट्रपतिले गरेको सम्बोधनप्रति तीखो प्रतिक्रिया दिएको छ ।
उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ । समितिको दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने भनेर दिएको अभिव्यक्तिको वक्तव्यमार्फत कडा आलोचना गरेको छ । दुई कोरिया दोस्रो विश्वयुद्ध अन्त्य भएसँगै विभाजित भएका थिए । विभाजित भएपछि दुई कोरियाबीच लामो युद्ध हुँदा हजारौं मानिसले ज्यान गुमाएका थिए ।
कोरिया विभाजनपछि उत्तर समाजवादी व्यवस्थातिर ढल्कियो भने दक्षिण कोरिया पुँजीवादी व्यवस्थामा गयो ।
त्यसैले, दुई कोरियाबीचको आर्थिक, सामाजिक अवस्था र राजनीतिक विचारधारा फरक रहेको छ । यस्तो अवस्थामा दुई कोरियाबीच तत्काल एकताको कुरा अव्यावहारिक र चुनौतीपूर्ण छ । लामो समयदेखि दुई कोरियाबीच यस्ता प्रसंगहरू उठ्ने गरे पनि त्यसले व्यावहारिक रूप लिन सकेका छैनन् । त्यसैले, दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनको भाषण व्यवहारमा उतार्न निकै कठिन र चुनौतीपूर्ण काम हो ।