खोजकर्ताहरूले २० करोड वर्ष पुरानो डायनासोरको अवशेष फेला पारेका छन्। दक्षिण अफ्रिकाको एउटा संग्रहालयमा खासै ध्यान नदिइएको अवस्थामा रहेको डायनासोरको खप्पर बिल्कुलै नयाँ प्रजातिको भएको उनीहरूले पत्ता लगाएका हुन्। तीस वर्षदेखि उक्त संग्रहालयमा रहेको अवशेषालाई पहिले अर्कै प्रजातिको डायनासोर मानिएको थियो।
डायनासोरको सुरूआती प्रजाति 'मास्सोसपोनडायलस' का रूपमा पहिचान गरिएको यो खप्परलाई 'ग्रे स्कल' (खरानी रङको खप्पर) नाम दिइएको छ। गहन अध्ययनपछि यो २० करोड वर्ष पुरानो भएको अध्येताहरूले निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार अहिलेसम्म भेटिएमध्येकै नयाँ प्रजातिको यो अवशेष 'जुरासिक पिरिअड' को सुरूआती समयको हो जुन बेला भर्खर-भर्खर पृथ्वीमा डायनासोरले राज गर्न थालेको थियो।
यसलाई अनुसन्धाता पल ब्यारेट र लन्डन संग्रहालयमा विद्यावारिधिका गर्दै गरेका किम्बरली च्यापल नामका विद्यार्थीले पत्ता लगाएका हुन्। उनीहरूले संग्रहालयमा भएका सबै डायनासोरका हाडहरूसँग तुलना गर्दै जाँदा यो बिल्कुलै नौलो प्रजातिको भएको पत्ता लगाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
यो खप्पर सन् १९७८ मा दक्षिण अफ्रिकाको फोरिसवर्ग भन्ने ठाउँको खेतमा भेटिएको थियो। त्यसयता संग्रहालयमा संरक्षित अवशेषमा धेरै वर्षसम्म कसैले गम्भीर ध्यान दिएका थिएनन्।
'धेरै अध्ययन गरेपछि यो अवशेष नयाँ जातको डायनासोरको हो भन्ने निष्कर्षमा हामी पुगेका हौं,' अध्येता पल ब्यारेटले भनेका छन्, 'यो पहिले भनिएको प्रजाति 'मास्सोसपोनडायलस' भन्दा फराकिलो र होचो छ।'
'मास्सोसपोनडायलस' प्रजातिका डायनासोर दक्षिण अफ्रिकामा धेरै पाइन्थ्यो। अनुसन्धाताहरूसँग यो प्रजातिका फरक कालखण्डका विभिन्न अवशेष नमूना थिए। उनीहरूले ती सबैको अहिले पत्ता लागेको अवशेषसँग तुलना गरे।
वयस्क 'मास्सोसपोनडायलस' को उचाइ पाँचदेखि छ मिटर हुन्छ। यो अवशेष पूर्ण रूपमा हुर्केको डायनासोरको भएको र दस वर्ष उमेरमा मृत्यु भएको हुनसक्ने अनुमान छ। अवशेष अध्ययन गर्दा यसको शरीरको लम्बाइ चार मिटर र तौल तीन सय किलोग्राम हुनसक्ने अनुसन्धाताहरूले बताएका छन्। त्यस्तै बोटबिरूवा र साना जनावर दुवै खाने यो प्रजातिको डायनासोरको शरीर 'ब्यारेल' आकारको हुने अनुमान छ।
डायनासोरहरूले यो धर्तीमा १६ करोड वर्षभन्दा बढी राज गरेका थिए। यिनीहरू लोप हुनुको रहस्य वैज्ञानिकहरूले लगभग सुल्झाइसकेका छन्।
उनीहरूका अनुसार ६ करोड ६० लाख वर्षअघि आकाशबाट ठूलो उल्कापिण्ड खस्यो। बाह्र किलोमिटर लामो त्यो उल्कापिण्डले पृथ्वीको सतहमा आगोका लप्का उठे। वायुमण्डल धुवाँको मुस्लोले भरियो। पृथ्वीमा विनाशकारी भुइँचालो आए। समुद्रमा हिमालझैं अग्ला पानीका छाल लहराए। यसले उल्कापिण्ड खसेको ठाउँभन्दा कोशौं टाढासम्म आफ्नो प्रभाव छाड्यो।
यही प्रभावले त्यति बेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर लोप भए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने केही प्राणी मात्र मुश्किलले बाँचे।
डायनासोर लोप गराउने उल्कापिण्ड मेक्सिकोको युकातान प्रायद्वीपमा खसेको थियो। उक्त उल्कापिण्डबारे अनुसन्धान गर्दै आएको वैज्ञानिक टोलीले मेक्सिकोभन्दा टाढा अमेरिकाको उत्तरी डकोटामा जीव तथा वनस्पतिका यस्ता अवशेष फेला पारे, जुन उल्कापिण्ड खसेको समयजतिकै पुरानो मानिएको छ। अर्थात्, ६ करोड ६० लाख वर्ष।