साउनमा मात्रै भ्रष्टाचार आरोपमा ३० पक्राउ

तस्बिरः नागरिक

काठमाडौं - ‘आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिकजसो भ्रष्टाचारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ।   प्रधानमन्त्री भएलगत्तै ओलीले आफ्नो अगाडिपछाडि कोही नभएको, पैसा कमाउनुको अर्थ नभएको भन्दै भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेका थिए।  त्यसपछिका भाषणहरुमा पनि उनले सरकारले शून्य सहनशीलताका रुपमा काम गरिरहेको दाबी गर्दै आएका छन्।  तर भ्रष्टाचारको अनुसन्धान गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताले मुलुकभर सर्वत्र भ्रष्टाचार फैलिएको देखाएको छ।

अख्तियारले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ।  यही अवधिमा ४५ जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।  यो संख्याले मुलुकमा भ्रष्टाचार कुनै पनि विन्दुमा नघटेको देखाएको हो। 

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा दैनिकजसो कर्मचारी र अन्य सम्बद्ध व्यक्ति पक्राउ परिरहेको जानकारी दिए।  ‘चालू आर्थिक वर्षको तथ्यांकलाई मात्र हेर्ने हो भने दैनिक रुपमा भ्रष्टाचारको आरोपमा कम्तीमा एकजना पक्राउ परिरहेको अवस्था छ,’ प्रवक्ता कोइरालाले आइतबार नागरिकसँग भने, ‘यस्ता घटनाले मुलुकमा भ्रष्टाचार नघटेको देखाएको छ। ’

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताले मुलुकभर सर्वत्र भ्रष्टाचार फैलिएको देखाएको छ।

कोइरालाले मुलुकमा भ्रष्टाचार बढे वा घटेको अनुसन्धान गर्ने निकाय भने अख्तियार नभएको बताए।  ‘मुलुकमा विगतभन्दा बढी भ्रष्टाचार भएको छ वा छैन भन्ने अनुसन्धान अख्तियारले गर्ने होइन।  अख्तियारलाई भ्रष्टाचारको अनुसन्धान गर्नेमात्र जिम्मेवारी हो,’ उनले भने, ‘भ्रष्टाचारका घटना बढेपछि अख्तियार सक्रिय भएको बुझ्नुपर्छ। ’

प्रवक्ता कोइरालाले पछिल्लो वर्ष भ्रष्टाचारमा उजुरीको संख्या बढेको जानकारी दिए।  उनका अनुसार अघिल्लो वर्षका तुलनामा गत वर्ष उजुरीको संख्या २६ प्रतिशतले बढेको छ।  अघिल्लो वर्ष १९ हजार उजुरी परेकोमा गत वर्ष ५ हजारले बढेर २४ हजार पुगेको छ।  ‘सर्वसाधारणले बढी उजुरी हाल्नुले मुलुकमा भ्रष्टाचार पनि बढेको अनुमान गर्न सकिन्छ,’ प्रवक्ता कोइरालाले भने। 

प्रकाशित मिति: : 2019-08-12 07:00:52

प्रतिकृया दिनुहोस्