प्रहरी नेतृत्वको दौडमा पछि परेपछि तत्कालीन डिआइजी नवराज सिलवाल एकाएक राजनीतिमा होमिए। राजनीतिमा होमिएनन् मात्र सिलवालले आलोचकलाई एकपछि अर्को 'सरप्राइज' दिइरहे। उनीमाथि लागेका अभियोगबाट बच्न तत्कालीन एमालेमा प्रवेश गरेको परिचर्चा सेलाउन नपाउँदै सिलवालले प्रतिनिधिसभाको टिकटमात्र टुंगो गरेनन् संसद्को यात्रा पनि निश्चित गरे। ललितपुर कांग्रेसका परिचित युवा नेता उदयशमशेर राणालाई हराउँदै सिलवाल सांसद् बने।
डिआइजीसम्म हुँदा सेलिब्रेटी प्रहरीको छवि बनाएका उनको खुला राजनीतिक यात्रा दुई वर्ष हाराहारीमा प्रवेश गरेको छ। प्रहरीको उच्च तहको अधिकारी र जनप्रतिनिधिको फरक फरक अनुभवबारे उनलाई हामीले सोधेका छौँ-
प्रहरीको उच्च तहमा रहेर निर्देशन दिन सहज कि जनताका एकपाने योजना बोकेर मन्त्रालय धाउन?
प्रहरीमाहुँदा सीमित दायरामा बसेर काम गर्नुपर्ने हुन्थ्यो। तर, म अहिले ठीक छु। यहाँ(राजनीतिमा)त असीमित दायरा हुन्छ। जनताले सांसद् बनाएर संस्थाको हैसियत दिनुभएको छ। सांसद् बनेर जनताको दुःख बोकेर जाँदा कुरा सुन्दिने ठाउँ छन्। जनताका काम गर्दिने अवस्था छ। काम गर्ने अवसरहरू छन्। अधिकारपूर्वक आफ्ना कुरा भन्न पाइएको छ। सन्तोष मान्ने वातावरण छ। यसका लागि देउवा सरकारलाई धन्यवाद दिने गरेको छु।मेरा लागि झनै फराकिलो ढोका खुल्ला भयो। जनताको सेवा गर्न पाउनु, प्रतिनिधि बन्न पाउनु, उहाँहरूको समस्यामा सहजकर्ता हुन पाउनु ठूलो अवसर हो। हिजोभन्दा आज झनै 'इन्जोय' गरिरहेको छु। पहिले पेसा थियो। अहिले सेवा गर्ने ठाउँमा छु।
प्रहरी सेवामा रहँदा ‘सेलिब्रेटी’ हुनुहुन्थ्यो।राजनीतिमा स्थापित हुन सहज रहेछ? समय व्यवस्थापन कत्तिको सहज हुँदो रहेछ ?
मलाई ‘सेलिब्रेटी प्रहरी’ बनाउनमिडियाको महत्त्वपूर्ण भूमिका छ। कुनै स्वार्थ नराखी काम गरेँ। सधैँ राम्रो काम गर्ने प्रयत्न गरेँ। त्यसले गर्दा म ‘रोल मोडल’बन्न सकेँ। विभिन्न घटना परिघटनाले म चर्चामा नै रहेँ। नवराज सिलवाल कस्तो हो भन्ने जनतालाई राम्रोसँग थाहा छ।
म राजनीतिमा पलायन हुने ढंगले आएको होइन। एक हिसाबले स्थापित भई पनि सकेको छु। जनताको मन र पार्टीमा स्थापित छु। संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छु। राजनीतिमा 'पार्टटाइम' वा समय बिताउन भनेर आएको होइन। राजनीतिलाई एउटा कोर्समा लानुपर्छ भन्ने अभियन्ताको हिसाबले आएको हुँ। मेरा लागि अब राजनीति पेसा होइन 'प्यासन; भइसक्यो।
परिस्थितिले १८ घण्टा खट्नुपर्ने बनाइदिएको छ। बिहान ६ बजेदेखि जनताको भीड लाग्छ।त्यसपछि संसद्, समितिका बैठक, कार्यक्रम, भेटघाट हुन्छ। बेलुका केही घण्टा पढ्छु। तर रमाइलो लागिरहेको छ।
जीवनमा सबैभन्दा सुन्दर पक्ष भनेको साधारण बन्नु हो। तर साधारण बन्नु भनेको संसारमा सबैभन्दा असाधारण काम हो। त्यो असाधारण काम म गरिहेको छु।फाटेको टोपी लगाउने मानिसले मसँग आफ्नो कुरा खुलेर राख्न सक्छ। माग राख्न सक्छ। उसले आफ्नो कोही छ भनेर सम्झन्छ। अनि म एउटा मिसनमा छु। मुलुक परिवर्तन गर्ने,दुःखी जनताहरूको अनुहारमा हाँसो ल्याउने। अन्यायमा परेकाहरूको पक्षमा लड्ने मिसन बोकेर हिँडेको छु।
यो पनि हेर्नुस्